हेटौँडामा प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास
मकवानपुर । हेटौँडामा प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास गरिएको छ।
बागमती प्रदेश सरकारको सहयोगमा मङ्गलवार बिहान हेटौँडा उपमहानगरपालिका–१७ स्थित हटियामा उक्त अस्पताल निर्माण कार्यको शिलान्यास गरिएको हो।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अस्पतालको शिलान्यास गर्नुभएको हो। उहाँले अस्पतालको निर्माणपछि प्रहरी कर्मचारीसँगै स्थानीय बासिन्दाले समेत स्वास्थ्य सेवा पाउने बताउनुभयो। प्रदेश सरकार नागरिक तथा सुरक्षाकर्मीको स्वास्थ्यप्रति संवेदनशील रहेको उल्लेख गर्दै गुणस्तरीय सेवा दिने उद्देश्यले अस्पताल निर्माणको थालनी गरिएको जानकारी दिनुभयो।
बागमती प्रदेश प्रहरी कार्यालयमार्फत सञ्चालन हुने परियोजनाअनुसार पहिलो चरणमा अस्पताल परिसरभित्र बहिरङ्ग विभाग कक्ष, कर्मचारी आवास, घेराबार, डिप बोरिङ, पार्किङ लगायतका संरचना निर्माण गरिनेछ। मन्त्रालयबाट विनियोजित बजेटमार्फत सुविधा सम्पन्न ३० शय्याको अस्पताल निर्माण गर्ने लक्ष्य राखिएको छ भने पहिलो चरणमा १५ शय्या क्षमताको अस्पताल निर्माण सुरु गरिएको प्रहरी अस्पतालका चिकित्सक तथा प्रहरी नायब उपरीक्षक डा। प्रयास बिडारी ले जानकारी दिनुभयो।

बिडारीका अनुसार पहिलो चरणको भवन निर्माण सम्पन्न भएपछि बहिरङ्ग र अन्तरङ्ग सेवा सञ्चालनमा ल्याइनेछ। निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित ८ करोड ३ लाख ७१ हजार रुपैयाँ लागतमा अस्पताल निर्माणको सम्झौता गरिएको छ, जसले आगामी २०८३ पुस १८ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।
हाल बागमती प्रदेश प्रहरी अस्पताल हेटौँडा–१५ स्थित रातमाटे प्रहरी गणबाट सेवा प्रदान गर्दै आएको छ। नयाँ संरचनाको निर्माणपछि स्वास्थ्य सेवा विस्तार र सुलभ हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्