‘पत्रकार आचारसंहिता र मिडिया हेर्न एकीकृत कानुन आवश्यक’

काठमाडौँ । पत्रकार आचारसंहिता उल्लङ्घन र मिडिया नियमनको जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई नै दिनुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ पत्रकार आचारसंहिता अनुगमन तथा मानवअधिकार विभाग र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा आज भएको ‘अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले मिडिया नियमनको जिम्मेवारी प्रेस काउन्सिल नेपाललाई नै दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार र मिडिया हेर्ने एकीकृत कानुन जरुरी रहेको भन्दै उहाँहरूले भविष्यमा सबै पत्रकार र मिडियाले मुद्दा खेप्न बाध्य हुनुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पछिल्ला केही मुद्दाहरूको बहसमा महासङ्घको तर्फबाट सहभागी हुँदै गर्दा राज्यले मिडियालाई विभिन्न बहानामा कडाइ गर्न खोजिएको देखिएको बताउनुभयो । पत्रकारलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गर्ने कार्य गरिएकोले समस्या उत्पन्न भएको भन्दै उहाँले मिडिया र मिडियाले प्रकाशन गर्ने कन्टेन्टका विषयमा समस्या उत्पन्न भएमा त्यसको उजुरी लिने र कारबाही गर्ने जिम्मेवारी प्रेस काउन्सिललाई नै भएको बताउनुभयो।
“पत्रकार र मिडियाको विषय प्रेस काउन्सिलले नै हेर्ने हो । काउन्सिलद्वारा नै उजुरी लिएर आवश्यक प्रक्रिया अगाडि बढाउने हो । तर पछिल्लो समय मिडियामाथि लगातार मुद्दा र उजुरी पर्दै आएको देखिन्छु”, अध्यक्ष शर्माले भन्नुभयो,”हामीसँग उपयुक्त कानुनको अभाव पनि छ । विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकारको मुद्दा हेर्दा अहिले सबैभन्दा बढी पत्रकार मारमा परेका छन् । त्यसैले पत्रकार र मिडियाको मुद्दा हेर्नका लागि एकीकृत कानुनको आवश्यकता छ । जसमा सबैभन्दा बढी काउन्सिललाई जिम्मेवार बनाउनुपर्छ ।”
अध्यक्ष शर्माले पत्रकार आचारसंहिता सबै पत्रकारले पालना गर्न आवश्यक रहेको भन्दै सबै पत्रकारले आफ्नो दायित्वलाई ध्यान दिँदै जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ सम्पादक हरिबहादुर थापाले ब्रेकिङ र क्लिकबेटका कारणले डिजिटल प्लेटफर्मका सम्पादकहरू समेत बढी जोखिममा रहेको बताउनुभयो । “क्लिकबेट र भाइरलका कारणले असन्तुलित कन्टेन्टले बढी चर्चा पाए । समाचार कम सूचना मात्रै बढी भयो । सम्पादनको चरण निकै कम भयो । एक दिनमा धेरै समाचार दिनुपर्ने, छिटो दिनुपर्ने दबाबमा हामी छौँ”, सम्पादक थापाले भन्नुभयो, “त्यसैले हामीले सूचना मात्रै दिइरहने अवस्था बन्यो । समाचार नै जान छाड्यो । न्युज रुमको डेस्कलाई हामीले संवेदनशील बनाउन आवश्यक छ ।” कतैबाट दिइएको सूचना कुन समयमा र के उद्देश्यले दिइएको छ भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्ने भन्नुहुँदै आचारसंहिता उल्लङ्घनको विषय अहिले उजुरी हुँदै अदालतसम्म जाने अवस्था सिर्जना भएको ले मिडियाको विषय प्रेस काउन्सिलले नै हेर्नुपर्ने बताउनुभयो।
पत्रकार राजेश राईले पत्रकार र मिडियामाथि पछिल्लो समय राज्यले गरेको व्यवहार प्रेस स्वतन्त्रता विरोधी भएको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका निमित्त मुख्य अधिकृत दीपक खनालले न्यु मिडियाका कारण भाइरल, प्रचारमुखी र क्लिकबेटको प्रचलन बढेकोले धेरै समस्या उत्पन्न भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्