१० बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै राष्ट्रिय शिक्षा सम्मेलन सम्पन्न
जनकपुरधाम । जनकपुरधाममा प्रथम राष्ट्रिय शिक्षा सम्मेलन २०८२ दश बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कार्यक्रम मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा भएको हो ।

मधेश प्रदेश शिक्षा नीति २०८१ को कार्यान्वयनका लागि आवश्यक श्रोत तथा पूर्वाधारको निर्माण, विद्यालय बाहिर भएका बालबालिकाहरूलाई विद्यालय ल्याई सीपयुक्त शिक्षा दिएर आत्मनिर्भर बनाउन सहकार्य गर्ने घोषणापत्रमा उल्लेख रहेको छ ।
यसका साथै पहुँच, सहभागिता र सिकाई सुनिश्चितताका लागि तीनै तहका सरकार र अन्य साझेदार संस्थाहरूसँग समन्वय र सहकार्य गर्ने, क्षेत्रिय सम्भाव्यतामा आधारित उद्यमशीलता प्रवर्द्धनका लागि स्थानीय सम्भाव्यता पहिचानका क्षेत्रगत सर्वेक्षण गरि सोही आधारमा उद्यमशीलता कार्यक्रम सञ्चालनका लागि सहकार्य गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
जनकपुरधाम घोषणापत्रका अन्य बुँदाहरूमा मधेश प्रदेशमा स्थापना भएको विश्वविद्यालयको सबलीकरणका पूर्वाधार निर्माण अनुसन्धान जनशक्ति तथा श्रोत व्यवस्थापनका लागि आवश्यक सहयोग गरिने भएको छ । शैक्षिक संस्थाहरूलाई व्यवस्थित र आत्म निर्भर र सशक्त बनाउनका लागि आवश्यक सहयोग गरिने घोषणापत्रमा उल्लेख रहेको छ ।
समापन कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले मधेशको शिक्षामा सुधारका लागि जनकपुरधाममा सम्पन्न भएको दुई दिने राष्ट्रिय शिक्षा सम्मेलन महत्वपूर्ण भएको बताउनुभयो ।
सम्मेलनमा शिक्षा क्षेत्रका विज्ञ, अगुवा, नीति निर्माता तथा प्रबुद्ध नागरिकहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्