भीमफेदीको हात्तीसार: इतिहास बोकेको सम्पदा संरक्षणको पर्खाइमा
मकवानपुर। नेपालका तत्कालीन शासक वर्गले चितवनको जङ्गलमा शिकार खेल्न प्रयोग गरेको मकवानपुरको भीमफेदीस्थित ऐतिहासिक हात्तीसार अहिले सङ्ग्रहालयमा परिणत भएको छ। तर, इतिहास बोकेको यो स्थल संरक्षण र प्रवर्द्धनको पर्खाइमा छ।

भीमफेदी गाउँपालिका–६ मा रहेको राणाकालीन हात्तीसार सङ्ग्रहालय नेपालका प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणा, श्री ५ महेन्द्र, बडामहारानी, बेलायती महारानी एलिजाबेथ द्वितीय, श्री ५ विरेन्द्र र श्री ५ ज्ञानेन्द्रसम्मले शिकारका क्रममा प्रयोग गरेको ऐतिहासिक स्थल हो। ती शासकहरू हात्तीको हौदामा चढेर चितवनतर्फ शिकार खेल्न जाने गर्नुहुन्थ्यो।
हाल सङ्ग्रहालयमा राजशाहीकालीन शिकारमा प्रयोग भएका सामग्रीहरू जस्तै—हौदा, हात्ती चढ्ने साधन, सिकारका औजार, जुटका बोरा, हात्ती बाँध्ने पोल, बेलायती शैलीको एक्युरियम, बेत, धागो, खन्ती, घिर्नी, झुलका डन्डी तथा काठका पुराना सामग्रीहरू सुरक्षित राखिएका छन्।

सङ्ग्रहालयमा बेलायती महारानी एलिजाबेथले प्रयोग गरेका चारवटा शिकारी हौदा र जङ्गबहादुर राणाको पिँजडा हौदासहित जम्मा ४२ वटा हौदा संग्रह गरिएको स्थानीय संरक्षक सुनिता लामाले जानकारी दिनुभयो।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार, “सङ्ग्रहालयमा रहेका सामग्रीहरूले नेपालको शाही इतिहास र शिकार संस्कृतिको सजीव दस्तावेज प्रस्तुत गर्छन्। तर, संरचना, संरक्षण र प्रचारप्रसारमा अझै ध्यान दिन आवश्यक छ।”

उहाँले अन्तर्राष्ट्रिय स्तरमै चिनाउने गरी संरचनागत सुधार, सामग्री संरक्षण र प्रचार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। “सयौँ वर्ष पुराना सामग्रीहरू जतन गर्न सकिएमा यो केवल स्थानीय पर्यटन मात्र होइन, राष्ट्रिय सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा पनि महत्वपूर्ण हुनेछ,” अध्यक्ष लामाको भनाइ छ।

हालै सङ्ग्रहालयमा रहेका केही दुर्लभ सामग्री र तस्बिरहरू पनि सार्वजनिक गरिएको छ, जसले इतिहासप्रेमीहरूलाई अझै आकर्षित गर्ने अपेक्षा गरिएको छ।
भीमफेदीको यो ऐतिहासिक सम्पदा संरक्षण र आधुनिक व्यवस्थापनको पर्खाइमा रहेको अध्यक्ष लामाले बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्