तपाईँ सुन्दै हुनुहुन्छः

अयडी दम्पतीको लोभलाग्दो तरकारी खेती,वार्षिक २० लाख आम्दानी गर्ने उद्देश्य

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर (८गड खेतका लालबहादुर अयडी उम्मेदले ४१ वर्षको हुनुभयो ।

३८ वर्षीय श्रीमती बास्ना देवी अयडी सँगै करिब एक दशक अगाडि काठमाडौँको थानकोटबाट व्यावसायिक तरकारी खेतीको सुरुवात गरेको यो दम्पती हाल सदरमुकाम मार्तडी नजिकै रहेको आफ्नै गाउँ गड खेतमा लोभलाग्दो तरकारी खेती गर्दै आएको छ।

देशमा रोजगारीको अभाव भएको भन्दै युवाहरू विदेशिने क्रम बढी रहेको बेला अयडी दम्पतीले गाउँका अरू दुई दर्जन बढी किसानहरूलाई समेत व्यावसायिक तरकारी सहित कृषि क्षेत्रमा लाग्ने हौसला दिँदै बेमौसमी तरकारी खेतीमार्फत दैविक रोजगारीबाट प्राप्त हुने भन्दा धेरै आम्दानी गराउन सफल हुनुभएको छ। हाल अयडी दम्पतीकै अगुवाइमा गड खेत गाउँका घरै पिच्छे १ देखि ६ सम्म ग्रीन हाउस निर्माण गरि तरकारी खेती भइरहेको छ।

गड खेतमा लालबहादुर र बास्ना अयडी दम्पतीले करिब १० रोपनी खेत भाडामा लिएर यस अघि वार्षिक ६ देखि ८ लाख सम्म आम्दानी गरिरहनुभएको थियो भने यो बर्ष १५ देखि २० लाख रुपैयाँसम्म कमाउने उद्देश्य राख्नुभएको छ । तरकारी खेती गरेरै अयडि दम्पतीले एक छोरालाई उच्च शिक्षा अध्ययनका लागि जापान पठाउनुभएको छ।भने एक छोरा र एक छोरीलाई सदरमुकाम मार्तडीमै पढाइ राख्नुभएको छ। तरकारीको कमाइले कसैको मुख ताक्न नपरेको अयडी बताउनुहुन्छ ।

२१ वटा ग्रीन हाउस (प्लास्टिकको संरक्षित घर) सहित खुला खेतमा समेत तरकारी खेती गर्दै आउनुभएका उहाँ समग्रमा ५०जति ग्रीन हाउस निर्माण गर्ने र थप खेती स्तरोन्नति गर्ने तयारीमा हुनुहुन्छ । रातदिन बारिएकै काममा मस्त अयडी दम्पतीले पछिल्लो समय काममा सहजताका लागि दुई जना श्रमिक समेत लगाएर रोजगारी दरिराख्नुभएको छ।

आफै बेर्ना उत्पादन गरेर बारिभरी टमाटर,ब्रोकाउली,काउली,फुल गोभी,चिचिन्डा,काँक्रा,भिण्डी,गाजर लगायत तरकारी लटरम्म फैलाइरहनुभएका अयडी दम्पतीले दैनिक ४२ केजी तरकारी सदरमुकाम मार्तडी स्थित विद्यालयमा दिवा खाजाका लागि मात्रै पठाउने गरेको बताउनुभयो । मार्तडी बजार सँगै बाम्का, बजार सम्म आफूले तरकारी पुर्‍याउने गरेको कृषक लालबहादुर अयडिको भनाइ छ।

अयडी दम्पतीको रहर लाग्दो र लोभलाग्दो कृषि कर्मकै कारण हाल कृषि ज्ञान केन्द्र बाजुरा,बडिमालिका नगरपालिका कृषि शाखा र विभिन्न सङ्घसंस्था मार्फत अनुदानका कार्यक्रमहरू समेत प्रदान भइरहेका छन् । जिल्लाकै नमुना व्यावसायिक कृषकका रुपमा स्थापित अयडिलाइ बडिमालिका नगरपालिकाले उत्कृष्ट कृषक घोषणा गरेको छ ।

भने पुरस्कृत गर्ने तयारी समेत गरेको छ। अयडी दम्पतीको लगाव बाजुराका समग्र कृषकहरूका लागि प्रेरणा भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनिले बताउनुभयो।अयडिको व्यावसायिक तरकारी खेतीमा ज्ञान केन्द्रले आवश्यक सहयोग गरिरहेको उहाँको भनाइ छ। हिमाल बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म मार्फत व्यावसायिक तरकारी खेतीमा लागेका अयडी दम्पतीले यही कर्म आफ्नो जीवनको अन्तिम सपना भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button