तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा र राप्रपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अवरोधका कारण प्रतिनिधिसभाको आजको कार्यसूचीबाट प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यक्रम भएपनि रास्वपाको विरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गर्नुभयो ।

सभामुख घिमिरेले प्रतिपक्षी दलहरूले नियमित उठाउँदै आएको विषयमा जानकारी रहेको र आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको हुँदा कार्यक्रमलाई सहज रुपमा अगाडी बढ्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

सभामुख घिमिरेले पटक पटक आग्रह गरेपनि रास्वपाका सांसदहरुले अवरोध जारी राख्नुभएको थियो ।

सभामुख घिमिरेले संसदमा समय लिएर बोल्नु पर्छ र संसद्लाई नियमबद्ध रुपमा सञ्चालन गर्नुपर्छ भनेर नियम बनाएको विषयमा जानकारी गराउनुभएको थियो । 

त्यसपछि बैठकमा विनियोजन विधेयक माथिको छलफल अगाडी बढाउने विषयमा सभामुख घिमिरेले कार्यसूचीमा प्रवेश गर्ने बित्तिकै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति गर्दै कार्यसूची अनुसार सम्बन्धित मन्त्रीहरू बैठकमा उपस्थित नभएका कारण छलफल अगाडी बढाउन नमिल्ने बताउनुभयो ।   

सांसद डा. अमरेशकुमार सिंहले पनि मन्त्री उपस्थित नभएको विषयमा सभाको ध्यानाकर्षण गराउनुभयो ।

त्यसपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको र मन्त्रीको उपस्थिति नहुँदा बारम्बार सदनबाट कार्यसूची आउने र हटाइने गरेको बताउनुभयो ।

उहाँले कार्यसूची अनुसार सम्बन्धित सबै मन्त्रीहरू उपस्थित नरहेको भन्दै मन्त्रीको उपस्थिति बिना कार्यसूची अगाडी बढ्न नसक्ने तथा नियमावली सांसद र मन्त्री सबैले पालना गर्नुपर्ने बताउनुभयो । 

उहाँले विनियोजन विधेयकको पुस्तक समयमा उपलब्ध नहुँदा छलफलमा समेत समस्या भइरहेको पनि बताउनुभयो ।

त्यसपछि सभामुख घिमिरेले मन्त्री उपस्थित नभएका युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धित विषय कार्यसूचीबाट हटाउनुभएको थियो ।

सभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल भइरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदहरुको अवरोधका बीच बैठक सञ्चालन गरेको भन्दै आज पनि सदन बहिष्कार गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button