बिच्छ्यामा खाद्य संस्थानको बिक्री केन्द्र, अब चामल किन्न घण्टौँ हिँड्न नपर्ने
बाजुरा । बाजुराको सर्वाधिक विकट मानिने बिच्छ्याँमा पहिलो पटक खाद्य संस्थानको बिक्री केन्द्र स्थापना भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्यामा बिक्री केन्द्र स्थापना गरेको हो । हिमाली गाउँपालिकाको वडा नम्बर १, २ र ३ लाई लक्षित गरेर बिक्री केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष गोविन्द मल्लले बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडीका निमित्त प्रमुख भरत बुढाका अनुसार बिच्छ्यामा स्थापना भएको बिक्री केन्द्रमा यस आर्थिक बर्ष अर्थात् असार सम्मका लागि ३ हजार क्विन्टल चामलको कोटा रहेको छ । मार्तडी, धनगढी र राजपुरबाट एक एक हजार क्विन्टल चामल ढुवानी भइरहेको प्रमुख बुढाले बताउनुभयो ।
खाद्य संस्थानको शाखा कार्यालय मार्तडी सहितका डिपो तथा बिक्री केन्द्रमा हाल प्रतिकेजी चामल ६२ का दरले बिक्री वितरण भइरहेको छ । तर बिच्छ्याँ बिक्री केन्द्रमा भने २ रुपैयाँ महँगो प्रतिकेजी ६४ रुपैयाँमा बिक्री वितरण हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराले जनाएको छ । बिच्छयाँ अहिले सम्म यातायातको पहुँचमा पुग्न सकेको छैन ।जसका कारण चामल लिनकै लागि ३ दिन सम्म हिँड्नुपर्ने स्थानीयको बाध्यता थियो।

चामल बिक्री केन्द्र स्थापना भएसँगै स्थानीयलाई चामल किन्न घन्टौँ हिँडेर कुवाडी डिपोमा पुग्नुपर्ने बाध्यता हटेको हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मङ्गल बुढाले बताउनुभयो ।सहज रुपमा यातायात सेवाको पहुँचमा नरहेका बिच्छ्याबासी अनुदानको चामल गाउँमै सहज रुपमा किन्न पाउने भएपछि खुसी भएका छन् । यसअघि उनीहरूले अनुदानको चामल लिन धेरै समय लानुपर्ने बाध्यता रहेको थियो । साथै यस वर्षबाट जिल्लाको हिमाली गाउँपालिकाको धुलाचौर र बुढीनन्दाको पाण्डुसैनमा समेत नयाँ खाद्य बिक्री केन्द्र स्थापना भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्