तपाईँ सुन्दै हुनुहुन्छः

बङ्गलादेशमा विद्युत् व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोडभन्दा बढी आम्दानी : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले बङ्गलादेशमा विद्युत् व्यापारबाट पाँच अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताउनु भएको छ । ऊर्जा मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले नेपालबाट बङ्गलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात गरि मासिक २५ करोड भन्दा बढी आम्दानी गरि पाँच महिनामा एक अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताउनुभएको हो ।

दक्षिण एसियाबाट तेस्रो मुलुक बिजुली निर्यात गर्ने पहिलो देश नेपाल भएको र बङ्गलादेशसँग पहिलो पटक विद्युत् व्यावसायिक रुपमा विक्री सुरु हुनु देश र जनताको लागि निकै गर्व र खुसीको कुरा भएको मन्त्री खड्का भनाई छ । ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल हुने भन्दै मन्त्री खड्काले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरि भारतलाई १० हजार र बङ्गलादेशलाई ५ हजार मेगावाट निर्यात गरेर आर्थिक रुपमा समृद्धि हासिल गरिने बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणले गएराति (असार १ अर्थात् जून १५) १२ बजेबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश विद्युत् निर्यात गरेको थियो । गत वर्ष कात्तिक ३० (नोभेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मिनेटका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यसवर्ष गएराति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।  गत वर्षको असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएको थियो । 

पत्रकार सम्मेलनमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल ऊर्जा व्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र बङ्गलादेशमा बिजुली निर्यात गरि अर्बौँ आम्दानी गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–अहिले लोडसेडिङ छैन र हुँदैन पनि । उत्पादित बिजुली बढी भएरै बिक्री सुरु गरिएको भन्दै ट्रिपिङको समस्या कहिलेकाहीँ देखिएर झ्याप झ्याप बत्ती जाने गरेपनि यसलाई हटाउँदै लगिएको छ । विगतका वर्षहरूमा पनि प्राविधिक कारणले ट्रिपिङको समस्या रहेको र गतबर्ष भन्दा अहिले क्रमशः कम हुँदै गएकोले लोडसेडिङ भन्ने भ्रम नपाल्न उहाँले आग्रह समेत गर्नुभयो । 

आइतबार अर्थात् आजदेखि बङ्गलादेशमा निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म बिक्री गरिनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुनेछ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफरपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ । त्यस्तै नेपालले जून १ देखि हरियाणा राज्यमा १ सय ८५ मेगावाट विद्युत् निर्यात गर्दै आएकोमा आइतबार अर्थात् जून १५ बाट बढाएर २ सय मेगावाट बिक्री गरेको छ । त्यस्तै विहारमा पनि ८० मेगावाट विद्युत् आइतबाटै निर्यात सुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button