तपाईँ सुन्दै हुनुहुन्छः

धिम गाउँको बिजुली बाल्ने सपना साकार

बाजुरा । बाजुराकै अति बिकट मानिने हिमाली गाउँपालिकास्थित धिम गाउँमा बिजुली पुगेको छ।

गाउँपालिकाकै ठूलो गाउँका रुपमा रहेको धिममा पहिलो पटक बिजुली बत्ती पुगे सँगै स्थानीयको वर्षौँ देखि बिजुली बाल्ने सपना साकार भएको छ। हिमाली गाउँपालिकाको सहयोगमा सञ्चालित कुवाडी खोला लघुजलविद्युत आयोजनाको लाइन बिस्तार पश्चात् वडा नम्बर ६ स्थित धिम गाउँ बिजुलीबत्तिले झिलिमिली भएको छ । बिजुली बाट धिम गाउँका २सय ७३ घरधुरीका करिब १४ सय जनसङ्ख्या लाभान्वित भएका छन् ।

जिल्लाकै अति विकट मानिने हिमाली गाउँपालिकाले यसअघि वडा नम्बर १ स्थित देउसिना, बिच्छ्या, टिन, बल्लदेमाडु, तरिखोला, बामु वडा नम्बर २ को कोटी, कोट, रुम्दी, नातीखोला तथा, वडा नम्बर ३को युना, बौडि का साथै हुम्ला जिल्ला स्थित ताजाकोट गाउँपालिकाको मासपुर गाउँमा बिजुली पुर्‍याएर ६ सय ८२ परिवारका ३ हजार ८ सय ६७ जनसङ्ख्यालाई उज्यालोको पहुँचमा पुर्‍याइसकेको छ ।

वडा नम्बर ५ स्थित क्युडी गाउँका १ सय २० परिवारका घरमा भने आगामी दसैँसम्म बिजुली बाल्ने गरि  तयारी भएको हिमाली गाउँपालिकाले जनाएको छ । पुस्तौँदेखि अँध्यारोमा बस्दै आएका धिम गाउँवासी गाउँमा बिजुली बलेपछि निकै खुसी भएकाे स्थानीय बिर्ख सार्किल बताउनुभयो ।

गाउँपालिकाको उज्यालो हिमाली बनाउने योजना करिब ९५ प्रतिशत पूरा भएको र ५ प्रतिशत क्षेत्रमा बिजुली बाल्ने काम तीव्र रुपमा भइरहेको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button