देवघाटमा साना किसानलाई मौरीको घार वितरण
चितवन । देवघाट गाउँपालिकाले वडा नं–२ का साना किसानलाई लक्षित गरी मौरीका घार वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)’अन्तर्गत ८० प्रतिशत अनुदानमा मौरीका घार वितरण गरिएको हो । यही जेठ ५ देखि ७ गतेसम्म किसानलाई मौरी पालनसम्बन्धी तालिम दिएपछि गाउँपालिकाले ८० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको हो ।

देवघाट गाउँपालिकाको वडा नं–२ स्थित तालबारी र सिम्लेकका २८ जना कृषकलाई मौरीका घार वितरण गरिएको गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिनुभयो । मौरी पालक किसानलाई मौरी पालनकै माध्यमबाट आत्मनिर्भर बनाउनुका साथै व्यावसायिक मौरी पालनतर्फ आकर्षित गराउनका लागि गाउँपालिकाले मेडपाअन्तर्गत तालिमसहित मौरीका घार प्रदान गरेको उहाँले बताउनु भयो ।
‘गाउँपालिकाको उद्देश्य पनि आर्थिकरुपमा विपन्न रहेका परिवारको आयस्रोत बढाउने नै हो’, उहाँले भन्नुभयो , ‘यसलाई विकास गर्दै पछि एउटै घरमा थुप्रै घार बढाउन पनि सकिन्छ ।’
देवघाट गाउँपालिकाको वडा नं–२ कृषिका लागि ज्यादै उर्वर भूमि भएको हुँदा कृषि कर्ममा मौरीलाई जोड्ने प्रयास गरिएको उहाँको भनाइ छ । ‘कृषिको अन्य क्षेत्रसँगै मौरी पालनबाट पनि हरेक किसानले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ’, अध्यक्ष मगरले भन्नुभयो, ‘भूगोल हेरेर कृषिको कुन क्षेत्र आवश्यक हो त्यसैमा काम गर्ने गाउँपालिकाले प्रयास गरिरहेको छ ।’
सोहीअनुसार गाउँपालिकाले किसानलाई सम्बन्धित क्षेत्रको तालिम प्रदान गरेर मौरीसहितको घार वितरण गरेको हो । तालिममा सहभागी वडा नम्बर–२ को तालबारी र सिम्लेकका २८ जना कृषकलाई मौरीसहितको घार वितरण गरिएको गाउँपालिकाका शाखा अधिकृत कृष्णराज पन्तले जानकारी दिनुभयो ।गाउँपालिकाले वितरण गरेको मौरीका घारलाई राम्रो हेरचाहका साथै व्यवस्थापनमा ध्यान दिन सके
वडा नं–२ का स्थानीयले अर्थोपार्जनमा राम्रो सहायता लिन सक्ने वडा नं–२ का अध्यक्ष मीनबहादुर रानामगरले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्