तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री राणाको आग्रह: “राहदानी सेवा जनताको अधिकार हो, संवेदनशील बन्नुहोस्”

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जोडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरू संवेदनशील र जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

राहदानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहदानी सेवामा कार्यरत कर्मचारीहरूका लागि आज धनगढीमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो धारणा राख्नुभएको हो ।   

उहाँले भन्नुभयो “राहदानी अब नागरिकको कुनै विलासिताको बस्तु नभएर प्रत्येक नागरिकको आधारभूत अधिकार भएको छ । त्यसैले यो सेवा दिने कार्यालयको ‘फ्रन्ट डेस्क’ मा बस्ने यहाँहरू सबैभन्दा जिम्मेवार व्यक्ति हुनुहुन्छ । सेवाको आवश्यकता र जनताका खाँचोलाई हेरेर गम्भीर भइदिनु होला ।” 

उहाँले यस्तो संवेदनशील सेवा दिने ठाउँमा बसेका कर्मचारीहरूले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र के कसरी उनीहरुलाई छिटोछरितो र सहज सेवा दिन सकिन्छ भनेर सोच्नुपर्ने सुझाव दिनुभयो ।

अझ सुदूरपश्चिम तथा यस्तै दुर्गम जिल्लामा दिइने सेवालाई त झन् कसरी सहज र नागरिकको पहुँचयोग्य बनाउने भन्ने बारेमा सरकार प्रयत्नशील रहेको मन्त्री डा. राणाले बताउनुभयो ।  

उहाँले भन्नुभयो “राहदानी लिनका लागि पहिलेजस्तो जटिल अवस्था अहिले छैन । तर पनि सेवा प्रदान गर्ने समय र वितरणका क्रममा केही समस्या आउने गरेका मैले सुनेकी छु । सरकारी सेवा जतिसक्दो चाँडै पाइयोस् भन्ने अपेक्षा जनताले राख्नु स्वाभाविकै हो । यसै बमोजिम सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउनु सरकारको कर्तव्य हो र यसका लागि यहाँहरूकै भूमिका बढी रहन्छ ।”  

मन्त्री डा. राणाले राहदानी सम्बन्धी वर्तमान सेवालाई दुर्गम जिल्लाहरूका नागरिकलाई अझ सहज र पहुँचयोग्य कसरी बनाउने भनेर सरकारलाई सुझाव दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “पासपोर्टमा जनतालाई परेका समस्या र त्यसमा गर्न सकिने सुधारका लागि यहाँहरूले सरकारलाई सुझाव दिन सक्नुहुनेछ । त्यसमा सरकारले समयानुकूल सुधार गर्दै लैजानेछ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button