तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरसँग देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम

चितवन । मध्य नेपालमा अवस्थित भरतपुर महानगरपालिकाले देशका ९ पालिकासँग भगिनी सम्बन्ध कायम गरेको छ ।

पछिल्लो समय भरतपुरमा भइरहेको पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा मारेको फड्कोले भरतपुरसँग भगिनी सम्बन्ध कायम गर्न खोज्ने पालिका वृद्धि हुँदै गएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशका धेरै पालिकाबाट भगिनी अर्थात् मितेरी सम्बन्धको लागि प्रस्ताव आएको बताउनुभयो  ।

प्रस्तावहरू क्रमशः कार्यपालिकाबाट पारित गरी भगिनी सम्बन्धहरू कायम गर्ने कार्यलाई अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरले पोखरा महानगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, धुरकोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, राप्ती गाउँपालिका, पचाल झरना गाउँपालिका, माडी नगरपालिका, डोल्पाको मुड्केचुला गाउँपालिका र ताराखोला गाउँपालिका बागलुङबिच भगिनी सम्बन्ध कायम भएको छ ।

पछिल्लो समय भगिनी सम्बन्धको प्रस्तावसँगै विभिन्न पालिकाबाट अनुभव आदानप्रदान गर्न मासिक एक दर्जन पालिका भरतपुर आउने गरेका छन् ।

महानगरपालिकाले विगत ८ वर्षको अवधिमा एक हजार किमी सडक कालोपत्रे गरिसकेको छ । यस्तै प्राकृतिक वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा देशभरका महानगरमध्ये लगातार ३ वर्ष प्रथम भएपछि भरतपुरको चर्चा चुलिएको हो ।

यसैबीच आज बागलुङको ताराखोला गाउँपालिका र भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध कायम भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button