गृहिणी महिलाहरूको सक्रियतामा चौतारामा होमस्टे सञ्चालन हुँदै (फोटो फिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा होमस्टे सञ्चालनको तयारी थालिएको छ । छिगुझिगु म्हसिका चौतारा सामुदायिक होम स्टेले चौताराको पुरानोबजारमा सामुदायिक होमस्टे सञ्चालनको तयारी थालिएको हो ।
गृहिणी महिलाहरूलाई सशक्तिकरण गर्दै उनीहरूको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले होमस्टे सञ्चालन गर्न लागिएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत महिला सशक्तीकरण कार्यक्रमबाट ७० प्रतिशत र चौतारा साँगाचोकगढी नगरपालिकाबाट ३० प्रतिशत गरि कूल ३९ लाख बजेटसहित होमस्टे सञ्चालनको तयारी थालिएको हो ।
सो बजेटबाट अहिले चौतारा भिन्तुनाचोकदेखि नारायणस्थानसम्म विभिन्न आकर्षक एवम् मौलिक परम्पराका संरचनाहरू बन्न थालेको छ । घरका खाली बाहिरी भित्ताहरूमा नेवारी कला, संस्कृतिको झल्को दिने चित्रहरू कोरिएका छन् । कतै लाखेको चित्र, कतै गाइजात्रामा मृतकका परिवारले घरबाट निकालिने तामचाको त कतै तलेजु भवानीको चित्र कोरिएको छ । यी मध्य पनि तलेजु भवानीको चित्र हेर्ने र सँगै उभिएर सेल्फी खिच्नेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

स्थानीय बीरेन्द्ररत्न शाक्यको घरको बाहिरी भित्तामा तलेजु भवानीको अनौठो तस्वीर कोरिएपछि अहिले यसप्रति सबैको चासो बढ्न पनि थालेको छ । पाहुनालाई आकर्षण गर्नका लागि बनाउन लगाइएको यो तस्वीर अन्य स्थानमा रहेको कुनै पनि तलेजु भवानीको स्वरूपसँग मेल नखाने भएका कारण पनि यो तस्बिरप्रति चासो बढ्न थालेको हो । भित्तामा कोरिएको तलेजु भवानीको तेस्रो आँखाको कारण धेरैलाई लाग्न सक्छ कि यो तस्वीर कुमारीको हो । त्यसो त कुमारी पनि तलेजु भवानीकै स्वरूप मानिने गर्छ । फेरि पनि यो तस्वीर कुमारीको नभइ तलेजु भवानीको भएको सम्पदा संरक्षण गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठ बताउनुहुन्छ ।
तस्बिरमा, विशेष गरी नेवार समुदाय र मल्ल वंशद्वारा सम्मानित देवी तलेजु भवानीलाई कुनै एक बस्तीको संरक्षकको रुपमा चित्रण गरिएको छ र त्यो चौतारा भएको श्रेष्ठको दाबी छ । कुमारीको झल्को दिने गरि कोरिएको तेस्रो आँखा बुद्धि र अन्तर्दृष्टिको प्रतीक हुनका साथै हातमा भएको परेवाहरूले शान्ति र सद्भावको सङ्केत गरेको सांस्कृतिक अभियान्ता सुरेश कसजूको भनाइछ ।
अधिकांश घरको आँगनमा कलात्मक मठ तयार हुँदैछ भने फल्चा, ढुंगेधारा, नारायणस्थानको पार्क लगायतका संरचनाहरूलाई मौलिक शैलीमा निर्माण थालिएको छ । । करिब १८ जना महिलाहरूलाई एकहप्ते होमस्टे सञ्चालन सम्बन्धी तालिम पनि सम्पन्न गरिसकेको छ ।
चौतारा सदरमुकाम भएको र आसपासमा होटल अनि लज प्रशस्त भएकै कारण होमस्टे सञ्चालनमा भने चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । तर पाहुनाहरूलाई आत्मिक स्वागत, मौलिक एवम् अर्ग्यानिक खाना, पारिवारिक वातावरण र सांस्कृतिक प्रस्तुतिहरूद्वारा मन जितेर त्यो चुनौती चिर्ने योजनामा छन् होमस्टेका अध्यक्ष गीता श्रेष्ठ ।

कुनै बेला नेपाल तिब्बतबीचको मुख्य पैदलमार्गको रुपमा चिनिएको चौतारा पुरानोबजार आफैमा एउटा ऐतिहासिक स्थल हो । अधिकांश नेवार समुदायको बसोबास रहेको यस ठाउँमा नेवारी कला, संस्कृति र संस्कार हेर्न पनि पाइन्छ । नेपाल भोटबीच १९११/०१२ भएको युद्धमा नेपाली पल्टन यसै मार्ग भएर भोटतर्फ हानिएका थिए । राष्ट्रिय विभूति भृकुटी र अरनिको यसै मार्ग भएर तिब्बत गएका हुन् । काठमाण्डौं तिब्बत बीचको व्यापारिक ट्रान्जिट प्वाइन्टकोरुपमा चिनिएको यस क्षेत्रमा प्रारम्भिक अवस्थामा किराँतीहरूको बसोबास रहेको बुढापाकाहरू बताउँछन् ।
द्रव्य शाहले गोरखाको लिगलिगकोट कब्जा गर्नु अघि नै यहाँ लमजुङ, घलेगाउँ र लिगलिककोटबाट घले जाति आएर बसोबास गरेको र पृथ्वीनारायण शाहले काठमाण्डौं विजय गर्नुपूर्व नै उपत्यकाबाट यहाँ नेवार समुदाय आएर बसोबास गरेको इतिहास छ । राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व चौतारा कान्तिपुरबाट शासित थियो । एकीकरणको क्रममा बेलकोट, शिवपुरी, साँखु, चाँगु, नालदुम, फटकशिला, सिपा हुँदै चौतारा र साँगाचोकलाई चमर सामसिं बस्न्यातको नेतृत्वमा कब्जा गरेको इतिहास पाइन्छ । चौतारा साँगाचोक लगायतको बस्ती राजा पृथ्वीनारायण शाहले आफ्नो कब्जामा पारेपछि सेनापति शिवरामसिंह बस्न्यातको नेतृत्वमा साँगाचोक रहेको टुकडीमाथि कान्तिपुर प्रत्याक्रमण गर्दा १३ जना सेनासहित बस्न्यातको मृत्यु भएको भन्ने भनाइछ ।

यहाँको कृष्ण मन्दिर परिसरमा थकाइ मार्न र बास बस्नका लागि बनाइएका पेटी, चौतारी र पाटीका कारण यस ठाउँको नाम नै चौतारा रहन गएको बुढापाकाहररु बताउँछन् । यस क्षेत्रमा बनेको भीमसेन मन्दिर झण्डै एक हजार वर्षअघि निर्माण भएको हो भने गणेश मन्दिर एकसय पचास वर्षपहिले र कृष्ण मन्दिर पनि सोही समयमा निर्माण भएको इतिहास पाइन्छ । सबैभन्दा चाख लाग्दो विषय त चौतारा बस्तीको संरक्षणार्थ यसको चारैसुरमा देवी मन्दिरको स्थापना गरिएको छ ।
उत्तरी पूर्वी क्षेत्रमा कालीदेवी, दक्षिणपूर्वी क्षेत्रमा सेतीदेवी, उत्तर पश्चिमी क्षेत्रमा भगवती र दक्षिण पश्चिमी क्षेत्रमा बनदेवीको मन्दिर स्थापना गरेर यहाँ बसोबास थालिएको स्थानीयहरू बताउँछन् । चारसुरमा देवीको मन्दिर र बीचमा भागमा बस्ती रहेको यो बस्ती आन्तरिक र बाह्य पर्यटकका लागि नौलो विषय हुनका साथै यी मन्दिरहरू पनि आकर्षणको केन्द्र हुने स्थानीयको विश्वास छ । त्यो सँगै गौराति भीमेश्वर मन्दिर, बुद्धपार्क र भूत छाङ्गो, रानीपोखरी जस्तो धार्मिक एवम् पर्यटकीय क्षेत्रले होमस्टे सञ्चालनका लागि टेवा पुग्ने स्थानीयहरू बताउँछन् । अझ चौताराबाट धार्मिक एवम् पर्यटकीयस्थल पाँच पोखरीको रुट विकास गर्न सके होमस्टे मात्र होइन सिङ्गो चौताराको चहलपहलमा नै वृद्धि हुनेमा चौतारावासी विश्वस्त छन् ।











प्रतिक्रिया राख्नुहोस्