तपाईँ सुन्दै हुनुहुन्छः

बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । 

कुल ११० सदस्यीय बागमती प्रदेशसभामा  आज ९२ जना सदस्य उपस्थित हुनुहुन्थ्यो । उपस्थितमध्ये मुख्यमन्त्री बानियाँको विश्वासको मतको पक्षमा  ६३ जना, विपक्षमा २२ र तटस्थमा सात जनाले मतदान गरेको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । 

नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम मुख्यमन्त्री बानियाँले प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको उहाँले घोषणा गर्नुभयो ।  

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापति बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि उहाँले आज विश्वासको मत लिनुभएको हो । 

प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ः०० बजे बस्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button