पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २ वर्षमा २ हजार ९ सय बढी पर्यटकले आवतजावत गरे

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २ बर्ष ७ महिनाको अवधिमा २ हजार ९ सय १० जना पर्यटक आवतजावत गरेका छन् । सन् २०२३ को जनवरी देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म विभिन्न एयरलाइन्स कम्पनीका जहाजबाट २ हजार ९ सय १० जना पर्यटक आवतजावत गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म विभिन्न एयरलाइन्स मार्फत ४२ वटा अन्तर्राष्ट्रिय उडान भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले बताउनु भयो । ४२ वटै आगमन र प्रस्थान अन्तर्राष्ट्रिय उडान भएको उहाँले जनाउनु भयो । चीनको सिचुवान एयरलाइन्स कम्पनीले पोखरामा हालसम्म अन्य कम्पनीको तुलनामा धेरै पर्यटक भित्राउन सफल भएको छ । सिचुवान एयरलाइन्सले ११ वटा फ्लाइट गर्दा १ हजार १ सय २७ जना पर्यटक चीनबाट पोखरा भित्राएको छ भने पोखराबाट ७ सय ९७ जनालाई चिन तर्फ लगेको तथ्याङ्कमा उल्लेख गरिएको छ । पोखरादेखि चीनको छेन्दुसम्म व्यवसायीक चार्टर्ड हवाई उडान गरेको सिचुवान एयरलाइन्सले पोखरामा हालसम्म १ हजार ९ सय २४ जना पर्यटकलाई आवतजावत गरेको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय विमान कम्पनी हिमालय एयरलाइन्स पर्यटनको राजधानी पोखरा विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासा बीच उडान सुरु गरेको छ । गत मार्च देखि अन्तर्राष्ट्रिय हवाई उडान गर्न सुरु गरेको कम्पनीले हालसम्म सिचुवान कम्पनीको तुलनामा करिब दोब्बर अर्थात् २१ वटा फ्लाइट गर्दा पर्यटक भने सिचुवानकै तुलनामा ३ गुणा कम पर्यटकले आवतजावत गर्नु भएको छ ।
पोखरा–ल्हासा उडानमा आगमन र प्रस्थान २१/२१ उडान हुँदा आगमन तर्फ ३ सय ८५ जना पर्यटक पोखरा भित्रिनु भएको हो भने २ सय ४६ जना मात्र पोखराबाट चीनको ल्हासा उडान गर्नु भएको तथ्याङ्कमा उल्लेख छ । सिचुवान र हिमालयन सहित १० वटा एयरलाइन्सले परिक्षणकाल सहित ४२ वटा हवाई फ्लाइट गरेका हुन् । पोखरामा हिमालय एयरलाइन्स, सिचुवान एयरलाइन्स, ड्रुक एयर, पीएलए, विंग्स, जिआल एयर, एरोनटिकल, थ्रस्ट एयरक्राफ्ट ग्यारेन्टी लगायतका एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई उडान गरेका हुन् ।
यसैबिच, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा पोखरामा सम्पूर्ण अध्यागमनका संरचना सहित जनशक्ति रहेको प्रमुख अध्यागमन अधिकृत हरिबहादुर भुजेलले बताउनु भयो । आफ्नो कार्यालयमा हाल २८ जना कर्मचारीको दरबन्दी रहेको उहाँले जनाउनु भयो । पोखरा देखि चीनको छेन्दु र पोखरा देखि ल्हासासम्मको अन्तर्राष्ट्रिय उडानलाई प्रभावकारी बनाउदै अन्य अन्तर्राष्ट्रिय हवाई उडान गर्न सबैले पहल गर्नुपर्ने पोखराका पर्यटन व्यवसायीहरूले बताउनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्