तपाईँ सुन्दै हुनुहुन्छः

बाढी र पहिरोको जोखिममा ओलेना बस्ती, ५ वर्षदेखि स्थानान्तरणको आश्वासन अधुरो

बाजुरा। बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर(४ मा पर्ने ओलेना बस्तीका बासिन्दा वर्षायाम सुरु भए लगत्तै बाढी र पहिरोको त्रासबिच दैनिकी बिताउन बाध्य बनेका छन्।

हरेक वर्ष, भारी वर्षाका बेला घरमाथिबाट खस्ने पहिरो र अगाडिबाट बुढिगंगा नदीको कटानले बस्तीका करिब दुई दर्जन परिवारको जीवन असुरक्षित बनेको छ।

२०७७ साल साउन २५ गते बुढिगंगा नदीमा आएको भीषण बाढीले बस्तीको ठुलो भाग कटान गर्दै दर्जनौँ घरहरूलाई उच्च जोखिममा पारेको थियो। बाढीबाट भएको क्षतिको अवलोकन गर्न हेलिकप्टर मार्फत ओलेना लगायत बस्तीमा आउनुभएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले तत्कालै बस्ती स्थानान्तरण गरिदिने घोषणा गर्नुभएको थियो । तर, बाढीको पाँच वर्ष पुग्दा समेत उक्त आश्वासन कार्यान्वयनमा नआएको स्थानीय कमल नाथ योगीले गुनासो गर्नुभयो।“हामीलाई तत्कालै सुरक्षित स्थानमा सारिदिने भनिएको थियो, तर पाँच वर्ष बितिसक्दा पनि यहाँ बस्नै पर्ने बाध्यता छ,” ।“बाढीको समयमा रातभर जाग्राम बस्नु हाम्रो दैनिकी बनेको छ नाथले भन्नुभयो ।

स्थानीय वासीका अनुसार ओलेना बस्तीको स्थानान्तरणको कुरा चुनावका बेला राजनीतिक दलका उम्मेदवारको नियमित नारा बन्दै आएको छ। तर, चुनाव जितिसकेपछि नेताहरूले बस्तीका पीडितलाई बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ।

f

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भने आवश्यक कागजात जिल्ला प्रशासन कार्यालयमा नपुगेसम्म स्थानान्तरण प्रक्रिया अघि बढ्न नसक्ने बताउनुभयो। “हामी जिल्ला विपद् व्यवस्थापन समितिबाट तत्काल निर्णय गर्न तयार छौँ,” पाध्याले भन्नुभयो, “तर स्थानीय सरकारले आवश्यक सिफारिस पठाउनुपर्छ, जुन अहिलेसम्म आएको छैन।”

ओलेना बस्ती सँगै ,०७७ साउनमा आएको बाढी र पहिरो बाट जोखिमग्रस्त बनेका जिल्लाको घागर,बजेडी,रापक लगायत बस्तीका स्थानीयले तीनै तहका सरकारले आफ्नो पीडामा ध्यान नदिएको गुनासो गर्दै आएका छन्। “हरेक वर्षा याममा बाढी र पहिरोको जोखिमबिच बाँच्नुपर्छ, तर हाम्रो समस्याप्रति कसैले ध्यान दिएको छैन,” ओलेनाका अर्का स्थानीय पदम नाथले दुखेसो पोख्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button