तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख १० अपराधमा बैङ्किङ कसुर पहिलो स्थानमा

काठमाडौँ । प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैङ्किङ कसुरका मुद्दा देखिएको छ । 

प्रहरी प्रधान कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रहरीले छुट्याएको मुख्य १० अपराधमा बैङ्किङ कसुर पहिलो स्थानमा परेको हो । 

त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी अपराध, आत्महत्या, लागुऔषध, चोरी, जबर्जस्ती करणी, ठगी, सवारी ज्यान, ज्यान मार्ने उद्योग र बहुविवाह छन् ।

बैङ्किङ कसुरका मुद्दा मात्रै ११ हजार ४८ दर्ता रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विवरण पछिल्लो १० महिनाका हुन् । त्यसपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी कसुरमा छ हजार ८८४ वटा मुद्दा दर्ता भएका छन् । 

लागुऔषधका चार हजार ४१, चोरीका दुई हजार ९४०, जबर्जस्ती करणीका एक हजार ८२८, ठगीका एक हजार ७५०, सवारी ज्यानसम्बन्धी, एक हजार ५५७, ज्यान मार्ने उद्योगमा ८९४ र बहुविवाहसम्बन्धी ४५४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ  ।

प्रहरीले आज सार्वजनिक गरेको विवरणमा कूल ४६ हजार ८८९ मुद्दा दर्ता भएकामा प्रमुख १० अपराधका मात्रै ७८ दशमलव ५१ प्रतिशत रहेको जनाएको छ । 

प्रवक्ता थापाले उक्त तथ्याङ्क विश्लेषण गर्दा औसतमा दैनिक  अपराधसम्बन्धी १५६ वटा मुद्दा दर्ता हुने गरेको बताउनुभयो । उहाँले जनचेतना, प्रहरीको सक्रियता तथा प्रहरीप्रतिको विश्वासमा अपराधको उजुरी दिने क्रम बढेको तथ्याङ्कले देखाएको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button