तपाईँ सुन्दै हुनुहुन्छः

बेलडाँडीका किसानहरूमा २४ वर्षदेखि दलदलको पीडा

बेलडाँडीका किसानहरूमा २४ वर्षदेखि दलदलको पीडा 'बाँझिएको खेतमा पुनरुत्पादनको आशामय क्रीडा'

कञ्चनपुर । पश्चिम नेपालको तराई भूभाग कञ्चनपुरको बेलडाँडीका फाँटमा लोभलाग्दो धान फल्थ्यो । 

दुई तीन पटक बाली लाग्थ्यो, तर अढाई दशकदेखि त्यही जमिनले बिउ मात्रै होइन, किसानको सपना पनि उडाएको छ । बेलडाँडीका सयौँ किसानका लागि पछिल्ला अढाई दशक यताका वर्षहरू पीडाका प्रतीक बनेका छन् । अघिल्लो पुस्ताले चर्को मेहनत गरेर उब्जाउने गरेको जमिन हाल दलदलमा परिणत भएको छ । बेलडाँडी गाउँपालिकाका पाँच वटै वडा र बेलौरी नगरपालिकाको केही क्षेत्र गरी झण्डै १ हजार ५०० बिघा जमिन करिब २४ वर्षदेखि बाँझो रहँदै आएको छ । पूर्वमा झरना खोला र पश्चिममा चौधर नदीको पानी सिधै खेतमा पस्न थालेपछि सुरु भएको समस्या आजसम्म समाधान हुन सकेको छैन । त्यसमाथि कच्ची नहरबाट भएको सिपेज र जमिनमुनिबाट निस्कने प्राकृतिक पानीको स्रोतले खेतहरू स्थायी रूपमा जलमग्न भए । उब्जनी दिन सक्ने जमिन अब बर्खायाममा जलाशय र हिउँदमा दलदल झैँ बनेको छ ।

बेलडाँडीका किसान विश्राम राना भन्छन्, “हामीले बुवा बाजेले जोतेको जमिन हेर्दै हुर्कियौँ । तर अहिले त्यो जमिन हेर्दा मन रोइरहन्छ । खेती गर्न सकिएन ।” खाद्यान्न उत्पादन ठप्प भएपछि स्थानीय उत्पादनमा निर्भर राज्यलाई आयातमा निर्भर बन्नु पर्‍यो । युवाहरू रोजगारीको खोजीमा देश छोड्न बाध्य भए । बाँकी रहेका महिलाहरू जोखिम मोलेर दलदलमै घाँस काट्ने बाध्यतामा छन् । वृषीदेवी राना भन्छिन्, “हामी दिनहुँ घाँस काट्न जान्छौँ, तर हिलाम्मे जमिनले लडाउँछ । कहिलेकाहीँ खुट्टा फस्छ, घाँटीसम्म डुबिन्छौँ । तर के गर्ने, पशुपालन गर्न घाँस चाहिन्छ नै ।”

यो समस्याको दीर्घकालीन समाधान अझै नआए पनि महाकाली सिँचाइ जल उपभोक्ता सङ्घको पहलमा केही आशा पलाएको छ । गत वर्षदेखि ड्रेन खन्ने कार्य सुरु गरिएको छ । संघका अनुसार, गत वर्ष ३ किलोमिटर लामो ड्रेन खनिएको थियो । यसले जमिनको पानी निकास सहज बनाएपछि केही जमिन सुक्न थालेको छ ।  महाकाली सिँचाइ व्यवस्थापन कार्यालय अन्तर्गत ब्लकका चौकीदार समेत रहेका किसान वीरबहादुर बिष्ट भन्छन्, “अब केही जमिन सुक्न थालेको छ । २४ वर्षपछि फेरि हलो जोत्न पाउने आशा पलाएको छ । किसानहरू खुसी देखिन्छन् ।” अर्का किसान गङ्गादत्त भट्ट थप्छन्, “यो काम धेरै अगाडि हुनुपर्थ्यो । तर ढिलो भए पनि सुरु भयो, अब निरन्तरता चाहिन्छ ।”

महाकाली सिँचाइ जल उपभोक्ता सङ्घको यो अभियान कुनै ठेक्का सम्झौताबाट होइन,  संघका पदाधिकारी र किसानकै सहभागितामा आधारित छ । महाकाली सिँचाइ व्यवस्थापन कार्यालयले एक्स्काभेटर, इन्धन र अपरेटर उपलब्ध गराएको छ भने महाकाली सिँचाइ जल उपभोक्ता संघका केन्द्रीय अध्यक्ष भीमबहादुर थापा सहितका पदाधिकारी सदस्य र स्थानीयले अनवरत श्रम र समय दिइरहेका छन् । संघका केन्द्रीय अध्यक्ष भीमबहादुर थापा भन्छन्, “हामीले किसानलाई सङ्गठित गरेर काम थालेका हौँ । किसानको श्रम र इच्छाशक्ति नै हाम्रो आधार हो । तीनै तहका सरकारसँग हारगुहार गरे पनि उपलब्धी शून्य भयो । अझ झन्झटिलो प्रक्रियाले त निक्कै सताएको छ ।” विगतका वर्षमा गरिएको कार्य सफल भएकाले यस वर्ष थप काम भइरहेको समेत उनले बताएका छन् । 

तर यो प्रयास मात्र पर्याप्त छैन । अझै सयौँ बिघा जमिन डुबानमै छ । दीर्घकालीन समाधानका लागि स्थानीय, प्रदेश र संघ सरकारबीच समन्वय आवश्यक छ । किसान रामबहादुर राना भन्छन्, “स्थायी समाधान बिना यो समस्या कहिल्यै नसकिने हो । सरकार जाग्नुपर्छ ।” अनि अर्का किसान नरेश प्रसाद भट्ट पनि भन्छन्, “जसरी सङ्घले ड्रेनेज प्रणाली विस्तार गर्न सहयोग गर्‍यो, त्यसै गरी बाँकी डुबान क्षेत्रको लागि नक्सा, नहर र निकासको वैज्ञानिक योजना चाहिन्छ ।” बेलडाँडीका किसानहरू २४ वर्षको पीडा बोकेर मनमा आशा पलाउँदै छन् । यो आशा कुनै ठुला भाषण वा बजेटमा सीमित छैन, जमिनमै पसिना बगाइरहेका किसानहरूका श्रम र स्थानीय प्रयासमा आधारित छ । तर यो प्रयासलाई दिगो बनाउन तीनै तहका सरकारसँगको समन्वय, योजना र लगानी अपरिहार्य छ । किसान फेरि हलो समाउने तयारीमा छन्, अब ढिलो नगरी राज्यले भरोसा दिनुपर्ने हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button