तपाईँ सुन्दै हुनुहुन्छः

पिएसबीले समृद्धि र राष्ट्रिय एकतामा जोड दिनुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनले कुनै राजनीतिक दल वा सरकारको पक्षमा भन्दा आधारभूत जनताको पक्षमा आफ्नो समाचार तथा कार्यक्रम निर्माण गरी जनतालाई सुसूचित गराउनुपर्नेमा जोड दिनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपालले आज काठमाडौँमा आयोजना गरेको रूपान्तरण बहस कार्यक्रममा मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालले मुलुकको विकास तथा समृद्धि, राष्ट्रिय एकताको प्रवद्र्धन र धार्मिक, सांस्कृतिक, साम्प्रदायिक र भाषिक सहिष्णुतालाई अभिवृद्धि गर्न प्रसारण केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सञ्चारमन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएकोले संस्था अब कामले पहिलो हुनुपर्ने, दुवै संस्थाका सम्पत्तिहरूको संरक्षण र व्यवस्थापन गर्दै त्यसलाई व्यावसायिक रुपमा अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले नेपालमा पिएसबीको नयाँ अवधारणलाई व्यवहारमा कार्यान्वयन गर्न अझै धेरै काम गर्न बाँकी रहेकोले त्यसतर्फ संस्थाले ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो ।

उहाँले संस्थालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन र दुई संस्था अहिले एक भएपनि व्यवहारमा त्यसको अनुभूति हुने गरी काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले पिएसबी गठन भएको छ महिना पुगेको र अझै संस्था सङ्क्रमणकालीन अवस्थामा रहेकोले यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन संस्था लागि परिरहेको जानकारी दिनुभयो ।

उहाँले, पिएसबीले सरकारको मात्र होइन, मुख्य रुपमा जनताको कुरा गर्ने गरी कार्यक्रम र समाचारको प्राथमिकतामा क्रमशः सुधार गर्दै अघि बढिरहेको बताउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले रूपान्तरण बहस कार्यक्रमबाट संस्थाको बजार व्यवस्थापन र विषय सामग्रीमा सुधार ल्याउन सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button