तपाईँ सुन्दै हुनुहुन्छः

बाढीको कारण पत्ता लगाउन सरकारी विज्ञको टोली हुम्लामा

हुम्ला । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिल गाउँमा आएको बाढी पहिरोको कारण पत्ता लगाउन सरकारी टोली बिहीबार मात्रै हुम्ला पुगेको छ । 

बाढी पहिरो आएको एक हप्तापछि सरकारी विज्ञ टोली सिमकोट पुगेर उत्तरी नाम्खा गाउँपालिकाको तिल गाउँमा प्रस्थान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजन इन्जिनियर सुशील कुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली बिहीबार बिहान सिमकोट पुगे लगतै उत्तरी नाम्खाको तिल गाउँमा प्रस्थान गरेको छ । 

टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहार्द जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा रहेका छन् । विज्ञहरुको टोली हुम्ला आउने भनेर मङ्गलवार काठमाडौँबाट नेपालगञ्ज प्रस्थान गरेको थियो । बुधबार मौसम खराबका कारण आज पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । जेठ १ गते राति एक्कासी बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका ६ को तिल गाउँमा क्षति पुगेको थियो । बाढी पहिरो प्रभावितहरूको बास अहिले त्रिपालमुनि रहेको छ । करिब ५ हजार ३०० मिटर माथि हिमालमा रहेका दुई वटा हिम पोखरीबाट बगेको पानीले बाढीको रूप धारण गरेको प्रारम्भिक अनुमान छ ।

स्थानीय आफैँ पोखरीसम्म पुगेर बाढीको आउनुको कारण पत्ता लगाएका थिए । तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा स्पष्ट हुन सकेको छैन । त्यसैले काठमाडौँबाट आएको विज्ञहरुको टोलीले त्यसको वैज्ञानिक कारण पत्ता लगाउने अपेक्षा छ ।

कर्णाली प्रदेश सरकारले एक साता पछि पठायो राहत
हुम्लाको नाम्खा गाउँपालिका ६ को तिलगाउँमा आएको हिम पहिरोले विस्थापित भएकाहरूलाई कर्णाली प्रदेश सरकारले एक सातापछि राहत सामाग्री पठाएको छ । हिमपहिरो गएको एक सातापछि बिहीबार प्रदेश सरकारले राहत सामाग्री पठाएको हो ।

जेठ १ गते राति दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँका २१ जनाको परिवारमा ३३ जना त्रिपालमा बसिरहेका छन् । हिमपहिरोका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति भने ठूलो भएको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको माग बमोजिम कर्णाली प्रदेश सरकारले आज ५ सेट टेन्ट (अस्थायी घर) २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेस सेट लगाएतका राहत सामाग्रीहरू पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले बताउनु भयो । हिम पहिरोले तिलखोला लघु जलविद्युत आयोजनादेखि खेत, कुलो, खानेपानी, धर्मशालामा ठूलो क्षति पुगेको छ । 

रेडक्रस सोसाइटीले पनि आजै राहत
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाको आधार विकास नेपालले पनि पीडितलाई लिएको राहत सामाग्री आजै पुगाएको छ । सोसाइटीको हुम्ला शाखाले प्रत्येक घर परिवार लाई १/१ त्रिपाल, १/१ थान कम्बल र १/१ थान म्याटेश लिएर आजै वितरण गरिएको हुम्ला शाखाका अध्यक्ष गणेश महतले बताउनु भयो । आधार विकास नेपालले  अन्य खाद्यान्न, औषधी लगायतका समान सहयोग गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button