भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास

चितवन । भरतपुर विमानस्थलमा ठूला जहाजको उडानलाई निरन्तरता दिने प्रयास भइरहेको छ । विभिन्न एयरलाइन्सले बेलाबेलामा ठूला जहाज उडान गरेपनि नियमित गरेका छैनन् ।
केही महिनाअघि तामझामका साथ श्री एयरलाइन्सले परीक्षण गरेर ८० सिटे जहाज उडान सुरु गरेको थियो । तर, अहिले बन्द भएको छ ।
सन् २००५ बाट नियमित उडान गर्दै आएको बुद्ध एयरले ठूलो जहाज उडानको प्रयास सुरु गरेको हो । हाल ४७ सिटको एटिआर–४२ बाट उडान भर्दै आएको बुद्ध एयरले आज ७२ सिट क्षमताको एटिआर–७२ बाट परीक्षण उडान गरेको छ ।
भरतपुर विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार २०० मिटर छ । एटिआर ७२ जहाजलाई सहज उडान र अवतरणका लागि कम्तीमा एक हजार ५०० मिटर धावनमार्ग आवश्यक पर्छ ।
एटिआर–७२ जहाजको अवतरणपछि क्याप्टेन प्रमोद थापाले सहज रुपमा उडान र अवतरण गर्न सकिएको बताउनुभयो । जहाजमा सँगै रहेका नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको निर्देशनअनुसार आफूहरूले जहाज उडान र अवतरण गरेको प्रतिक्रिया उहाँले दिनुभयो ।
सोही अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशक देवचन्द्रलाल कर्णले आजको परीक्षण उडानको सम्पूर्ण विवरण अध्ययन गरी निर्णयमा पुगिने बताउनुभयो । सम्भावना रहेमा दुई महिना भित्रमा नियमित उडान गर्न सकिने उहाँको भनाइ छ ।
बुद्धएयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतका अनुसार हाल दैनिक सात उडान काठमाडौँ–भरतपुर र एउटा भरतपुर–पोखरा एटिआर–४२ बाट उडान हुँदै आएको छ ।
धावनमार्गसँगै रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्ने योजना धेरै अघिदेखि गरिएपनि सार्थकता पाउन सकेको छैन । रासस
प्रतिक्रिया राख्नुहोस्