तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा महिला फुटबल प्रतियोगिता हुने

धनकुटा । धनकुटामा आगामी जेठ १४ गतेदेखी १७ गतेसम्म सहिद रामकृष्ण श्रेष्ठको स्मृति पालिका स्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ । 

मङ्गलवार सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरी पालिका स्तरीय महिला फुटबल प्रतियोगिता हुने जानकारी गराएको हो ।

धनकुटा नगरपालिका–५, स्थित तल्लो टुँडिखेलमा प्रतियोगिता हुन लागेको हो । धनकुटाका तिन वटा नगरपालिका र चार गाउँपालिकाका सात वटा टिमको सहभागिता हुने आयोजकले जनाएको छ । 

महिलाहरूलाई खेलको मध्यमबाट विश्वभर चिनाउने उद्देश्यले महिला फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको सहिद रामकृष्ण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता हुने टिमले नगद ६० हजार र उपविजेता हुने टिमले नगद ३० हजार रुपैयाँ मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

वि.सं. २०३० साल चैत्र ३ गते तत्कालीन राजा विरेन्द्र विराटनगर आउँदा बम प्रहार गर्ने क्रममा श्रेष्ठको निधन भएको थियो । उहाँलाई सरकारले वि.सं. २०४७ साल माघ ३ गते सहिद घोषण गरेको थियो । श्रेष्ठको स्मृतिमा प्रतिष्ठानले २०७७ सालदेखी महिला फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । सहिद रामकृष्ण श्रेष्ठको स्मृतिमा हुन गइरहेको महिला फुटबल यो पाँचौँ संस्करण हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button