बालकहरू पनि यौनजन्य हिंसाको शिकार

काठमाडौँ । नेपालमा पछिल्लो समय बालकहरू पनि यौनजन्य हिंसाको शिकार हुने गरेको सरोकारवालाहरुले जनाएका छन् ।
राष्ट्रिय बालअधिकार परिषद् र बाल आवाजले आज काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रममा प्रत्येक वर्ष तीनदेखि १८ प्रतिशत बालकहरू यौनजन्य हिंसामा पर्ने गरेको बाल आवाज नेपालकी प्रतिनिधि कृति भट्टराईले जानकारी दिनुभयो ।
त्यस प्रकारको यौनजन्य हिंसा गर्नेमा अधिकांश विदेशी नागरिक रहेको पनि बाल आवाजले जनाएको छ ।
छलफल कार्यक्रममा परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले बालकहरूमाथि हुने यौन हिंसाको विषयमा चर्चा नै हुन नसकेको उल्लेख गर्दै यस्ता हिंसामा संलग्नलाई कडा कारबाहीका लागि कानूनी व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा बाल आवाज नेपालका उपनिर्देशक राजु घिमिरेले विभिन्न ठाउँमा बालकहरू यौन शोषणमा पर्ने गरेको भए पनि उनीहरूको पीडा बाहिर आउन नसकेको बताउनुभयो ।
त्यसैगरी खोजतलास केन्द्रका प्रहरी नायव उपरीक्षक महेश थापाले बालगृह, सडक, सार्वजनिक यातायात, तथा बाल श्रमिकहरूका गरिबीको फाइदा उठाएर विदेशी नागरिकले बाल यौन दुर्व्यवहार गरेको घटना बढ्दो रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्