लैँगिकमैत्री बजेट ल्याउन महिला सांसदहरुको माग
काठमाडौँ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गरिँदा लैंगिक संवेदनशीलता अपनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।

अखिल नेपाल महिला संघको संसदीय विभागले आज संसद सचिवालय सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य सीता पौडेल अधिकारीले स्टार्ट अप विजनेस, निरोगी अभियान नेपाल लगायतका कार्यक्रमको कार्यान्वयनका लागि महिलामैत्री बजेट विनियोजन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले सामाजिक न्यायका लागि विकासका आयामहरुमा विविधता अनिवार्य भएकाले सोही अनुसार कार्यक्रमहरु संचालन गर्न आवशयक भएको बताउनुभयो ।छलफलमा राष्ट्रिय सभाअन्तरगतको विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले सरकारले ल्याएको स्टार्टअप विजनेश कार्यक्रमले महिला उद्यमीलाई प्राथकिता दिनुपर्ने बताउनुभयो ।
छलफलमा नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको प्रमुख सचेतक भगवती न्यौपानेले समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल हुुन ५१ प्रतिशत महिलाहरु खुसी हुनुपर्ने हुदा त्यसै अनुसारको कार्यक्रम संचालन गरिनपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी सांसदहरु डा अन्जान शाक्य, विजुला रायमाझीले लैगिक समानताका लागि विना विभेद विकासका कार्यक्रमहरु अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी पूर्व मन्त्री डा. विमला राई पौड्यालले कृषिलाई महिलामैत्री नबनाइकन उत्पादन वृद्धि नहुने हुँदा लैगिकमैत्री बजेट छुट्याउन सरकारलाई सुझाब दिनुभयो ।
छलफलमा अनेमसंघकी महासचिव पेम्बा लामाले समविकासबाट मात्रै सामाजिक न्याय हुने हुँदा हरेक कार्यक्रम र नीतिमा महिलालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्