मेलुङ चिनाउने चित्रकला प्रदर्शनी
दोलखा । चित्रकला मार्फत धार्मिक, प्राकृतिक एवम् सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोलखाको मेलुङ गाउँपालिकाले क्यान्भासमा मेलुङ– २०८२ चित्रकला प्रदर्शनी आयोजना गरेको छ ।
उक्त प्रदर्शनीमा मेलुङ गाउँपालिकाको विभिन्न स्थानहरूमा पुगेर १५ जना कलाकारहरूले बनाएका १८ वटा चित्रकला राखिएको थियो । मेलुङ गाउँपालिका भित्रका गुम्बा, मन्दिर, कृषि, जीवनशैली, संस्कृति र पर्यटकीय स्थलहरूलाई कलात्मक ढङ्गमा उतारिएको क्यान्भासमा मेलुङ– २०८२ चित्रकला प्रर्दशनिको आयोजना मेलुङ गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा गरेको र त्यसको व्यवस्थापन चरिकोट मिडिया फाउण्डेशनको रहेको अध्यक्ष जीवन लामाले बताउनुभयो ।

मेलुङ गाउँपालिकामा प्राकृतिक, धार्मिक र सांस्कृतिक रुपमा धेरै पर्यटकीय स्थलहरू रहेको तथा मेलुङको जीवनशैली अध्यताहरुको लागि महत्वपूर्ण रहेकोले यी विषयहरूलाई चित्रकला मार्फत प्रस्तुत गर्दा त्यसले छुट्टै प्रभाव पार्न सकेको मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले बताउनुभयो ।
गाउँपालिकाको नवनिर्मित भवनमा मेलुङको मौलिकता झल्किने कला सङ्ग्रहालय स्थापना गर्ने योजना पालिकाको रहेको अध्यक्ष तामाङले बताउनुभयो ।
१५ जना कलाकार सहभागी चित्रकलाको संयोजक कलाकार बिक्रम तामाङले गरेका थिए । क्यान्भासमा मेलुङ– २०८२ चित्रकला प्रदर्शनी सदरमुकाम चरिकोटमा पनि आयोजना गरिएको थियो । चित्रकलाको माध्यमबाट दोलखाको विभिन्न स्थानको पर्यटन, धार्मिक मठ– मन्दिर, सांस्कृतिक रीतिरिवाज, जीवनशैली आदी प्रस्तुत गर्दा त्यसको प्रभावकारिता उच्च रहने कलाकार बिक्रम तामाङले बताउनुभयो ।
कलाकार बिक्रम तामाङको टिमले काठमाडौँ महानगरपालिकाको सहयोगमा काठमाडौँको विभिन्न स्थान तथा भीमेश्वर नगरपालिकाको सहयोगमा दोलखा सदरमुकाम चरिकोट र पुरानो बजारको भित्ताहरूमा समेत कला, संस्कृति, पर्यटकीय स्थल र जीवनशैली झल्कने विभिन्न प्रकारका चित्रहरू बनाएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले राजधानी केन्द्रित कलालाई अब गाउँ–गाउँसम्म पु¥याउने अभियानमा आफूहरू लागेको बताए । प्रतिष्ठानले यसअघि पनि विभिन्न स्थानीय तहहरूसँग समन्वय गरी चित्रकला गोष्ठी र प्रदर्शनी आयोजना गरेको लामाको भनाई छ ।
मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङको अध्यक्षता तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रदर्शनी उद्घाटनमा उपाध्यक्ष गायत्री आचार्य, राष्ट्रिय ललितकला संघका अध्यक्ष एनबी गुरुङ, गाउँपालिकाका प्रवक्ता नवराज खड्का र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरेराम चापागाईँले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्