तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीमा घरदैलोमै राहदानी वितरण सुरु, सेवाग्राही खुसी

नवलपरासी पश्चिम । जिल्ला हुलाक कार्यालय नवलपरासीले नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यसहित घरदैलोमै पुगेर राहदानी वितरण कार्य सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त राहदानीलाई स्थानीय तहसम्म पु¥याएर सेवाग्राहीकै पहुँचमा सेवा दिने अभियान प्रभावकारी बन्दै गएको छ ।

जिल्ला हुलाक कार्यालय नवलपरासीका हुलाक अधिकृत रमेश ज्ञवाली का अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्राप्त १३४ वटा राहदानीमध्ये हालसम्म १०८ वटा राहदानी वितरण गरिसकिएको छ । उहाँले जेठ ६ गतेदेखि नै वितरण कार्य सुरु गरिएको रेडियो नेपाललाई जानकारी दिनुभयो ।

नागरिकलाई जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने झन्झट कम गर्न तथा स्थानीय स्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाका सातै स्थानीय तहमा रहेका हुलाक शाखामार्फत राहदानी वितरण गरिएको हो । तथ्याङ्क अनुसार सबैभन्दा बढी सुनवल मा २६ जनालाई राहदानी वितरण गरिएको छ । 

हुलाक कार्यालयका अनुसार बाँकी रहेका २६ वटा राहदानी पनि वितरणको तयारी अवस्थामा रहेका छन् । आवश्यक प्रक्रिया पूरा गरी ती राहदानी समेत चाँडै सम्बन्धित सेवाग्राहीसम्म पुर्‍याइने बताइएको छ ।

गत वैशाख २३ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरणसम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतापछि वैशाख २८ गतेदेखि राहदानीका लागि फारम भर्ने कार्य सुरु गरिएको थियो ।

यसअघि राहदानी लिनका लागि सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । तर अहिले हुलाकमार्फत स्थानीय तहबाटै राहदानी प्राप्त गर्न सकिने भएपछि नागरिकलाई समय, खर्च र झन्झट कम भएको अनुभव भएको छ ।

घरमै राहदानी प्राप्त भएपछि सेवाग्राहीहरूले सरकारको सेवा प्रवाह प्रणालीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । आफ्नै घरमा राहदानी बुझ्नुभएका बर्दघाट १३ धनेवाका विवेक परियारले घरमै राहदानी पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button