तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमाथिको छलफल अन्तिम चरणमा 

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकमाथिको छलफल अन्तिम चरणमा पुर्याएको छ । 

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि आज छलफल गर्दै समितिका सभापति रामहरि खतिवडाले समितिको आगामी बैठकमा विधेयक पारित गर्नेगरी अगाडी बढेको बताउनुभयो । 

समितिले मिल्न बाँकी विषयमा सहमति जुटाएर विधेयक पारित गर्ने जनाएको छ ।

छलफलमा क्रममा भ्रष्टाचारको मुद्दा लागेका कर्मचारीले निवृत्तिभरण नपाउने, दोहोरो सुविधा लिन नपाउने लगायतका विषयमा सहमति भएको छ ।   

संघीय निजामती सेवा विधेयकमा प्रस्तावित कुलिङ पिरियडको समय एक वर्ष राख्ने की दुई वर्ष भन्ने विषय भने सांसदहरूबिच मत बाझिएको छ । 

छलफलका क्रममा सांसदहरुले कुलिङ पिरियड सबैका लागि एउटै राख्नुपर्ने र कसैलाई पनि विभेद हुने गरी कानुन निर्माण गर्न नहुनेमा जोड दिनुभयो ।  

राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि छलफल गर्न गत फागुन ९ मा गठन गरिएको सांसद दिलेन्द्र प्रसाद बडू नेतृत्वको उपसमितिले चैत २० गते विधेयकको प्रतिवेदन समितिलाई बुझाएको थियो ।

११ सदस्यीय उपसमितिमा सांसदहरू अशोककुमार राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button