बिच्छ्यामा पुग्यो बिजुली,६ सय ८२ परिवार लाभान्वित
बाजुरा । बाजुराकै अति बिकट मानिने हिमाली गाउँपालिका स्थित बिच्छयाँमा बिजुली पुगेको छ।
गाउँपालिकाको वडा नम्बर १ स्थित देउसिना, बिच्छ्या, टिन, बल्लदेमाडु, तरिखोला, बामु वडा नम्बर २ को कोटी, कोट, रुम्दी, नातीखोला तथा, वडा नम्बर ३ को युना, बौडिका साथै हुम्ला जिल्लास्थित ताजाकोट गाउँपालीकाको मासपुर गाउँ गरि ६ सय ८२ परिवारका ३ हजार ८ सय ६७ जनसंख्या सम्म बिजुलीबाट लाभान्वित भएका छन् ।

वडा नम्बर ५ स्थित क्युडी गाउँका १ सय २० परिवारका घरमा भने आगामी दशैंसम्म बिजुली बाल्ने गरि तयारी भएको हिमाली गाउँपालिकाले जनाएको छ । पुस्तौदेखी अँध्यारोमा बस्दै आएका बिच्छ्याबासी गाउँमा बिजुली जलेपछि निकै खुसी भएका स्थानीय राज बहादुर थापाले बताउनुभयो ।

हिमाली गाउँपालिकाको सहकार्यमा ‘कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल’ संस्थाको सहयोगमा गाउँमा बिजुली बाल्ने काम पुरा भएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो । हिमाली गाउँपालिकाको २ स्थित नातिखोला लघुजलविद्युत् आयोजनाबाट बिजुली उत्पादन गरिएको छ । कादुरी एग्रिकल्चरल एड एसोसियन ब्रिटिस गोर्खाज् नेपालका प्राविधिक निर्देशक डा. नारायण गुरुङका अनुसार २०८२ जेठसम्म बिच्छयाँका सबै गाउँमा बिजुली बालिसक्ने योजना रहेको भए पनि समय अगावै गाउँमा बिधुत सेवा बिस्तार भएको हो।

झन्डै १४ करोड ५५ लाख रुपैयाँमा एक सय किलोवाट क्षमताको उक्त परियोजना सम्पन्न भएर गाउँ गाउँमा बिधुत सेवा बिस्तारको कार्य भइरहेको छ । निकै भौगोलिक बिकटता रहेको बिच्छयाँमा बिजुली बाल्न संस्थाले हेलिकप्टर मार्फत हुम्लाको जिबानाबाट सामान ढुवानी गरेको थियो ।
यो संगै वर्षौंदेखि झरोको सहारामा उज्यालोको ब्यबस्था गर्दै आएका स्थानीयको गाउँमा बिजुली बाल्ने सपना पूरा भएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्