तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियालाई

नवलपरासी पश्चिम् । प्रदेश फुटबल सङ्घद्वारा आयोजित दोस्रो लुम्बिनी प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि जनजागृति युवा क्लब बर्दियाले जितेको छ । फर्साटिकर युवा क्लब रुपन्देही र जनजागृति युवा क्लब बर्दियाबिच भएको फाइनल खेलमा फर्साटिकरलाई शून्यका विरुद्ध एक गोल गर्दै बर्दियाले जित हात पारेको हो ।

खेलको पहिलो हाफको २४ औँ मिनेटमा जनजागृति युवा क्लबका जर्सी नम्बर १५ सुनिल आले मगरले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको छ । अन्तिम समयमा तीन मिनेट थप गरिए पनि फर्साटिकरले कुनै पनि गोल गर्न नसकेपछी अन्ततः बर्दिया उपाधि उचाल्न सफल बनेको छ । खेलको ‘म्यान अफ द म्याच’ गोलकर्ता बर्दियाका सुनिल आले हुनुभएको छ ।

प्रथम हुने टिमले रु २ लाख २२ हजार २ सय २२ रुपैयाँ र द्वितीय हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशि प्राप्त गरेका छन् ।

पुरस्कार वितरण समारोहमा बोल्दै अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार)ले फुटबलमा अहिले पनि सङ्घीयता आउन नसकेको उल्लेख गर्दै दूर दराजका ग्रामीण बस्तीमा समेत खेलकुदका कार्यक्रम मार्फत दक्ष खेलाडीको खोजी गर्नु पर्नेमा जोड दिनुभयो ।

चैत्र २ गतेबाट ८ गते सम्म बर्दघाट १६ स्थित सुर्यनगर रङ्गशालामा सञ्चालन गरिएको फुटबल लिगका लागि बर्दघाट नगरपालिकाले ५ लाख रुपैयाँ बिनियोजन गरेको फुटबल संघ लुम्बिनी प्रदेशका महासचिव भिमकाजी गुरुङले जानकारी दिनुभयो । खेलका ७ जिल्लाका ७ वटा टिम (जिल्ला लिग च्याम्पियन) हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button