पिएम कप : आर्मी क्लब विरुद्ध मधेश प्रदेश ३ विकेटले विजयी
दाङ । लगातार ३ खेलमा हार व्यहोरेको मधेश प्रदेशले नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विरुद्ध ३ विकेटको सानदार जीत हासिल गरेको छ ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबले दिएको २१८ रनको विजयी लक्ष्य मधेश प्रदेशले ४८ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।
दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा त्रिभुवन आर्मी क्लबले दिएको लक्ष्य पछ्याएको मधेश प्रदेशले लगातारको हारको शृङ्खला रोक्दै विभागीय टिम आर्मीविरुद्ध सानदार जीत निकालेको हो ।
मधेश प्रदेशले आज परिपक्व ब्याटिङ गर्दै आर्मी विरुद्ध जीत निकालेको हो । मधेश प्रदेशका निखिल सिंह र रुपेश सिंहले आर्मी विरुद्ध ३९ बलमा ५० रनको साझेदारी गर्दै हारको शृङ्खला अन्त्य गरे ।
१६९ रनमा ७ विकेट गुमाएको अवस्थामा रहेको मधेशका लागि निखिलले २६ बलमा १ चौकासहित १४ रनमा अविजित रहँदा रुपेश सिंहले २० बलको सामना गर्दै अविजित ३८ रन बनाए । उनले २ छक्का र २ चौकाको मद्दतमा ३८ रन जोड्दा मधेशले आर्मीविरुद्ध जीत निकाल्यो ।
प्रतियोगितामा आर्मीविरुद्ध ३८ रनसहित महत्वपूर्ण २ विकेट लिएका रुपेश सिंह प्लेयर अफ द म्याच भए ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा पूरै ओभर खेलेर २१७ रन बनाएको थियो ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अहिलेसम्म ६ खेल खेलिसकेको आर्मी ५ मा जीत र १ मा हार हुँदै १० अङ्कका साथ दोस्रो स्थानमा यथावत् छ भने ५ खेल खेलिसकेको मधेश प्रदेश २ खेलमा जीत र ३ खेलमा लगातार व्यहोर्दै ४ अङ्कका साथ अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।
जारी प्रतियोगितामा यसअघि आर्मीले वाग्मतीलाई १३४ रन, सुदूरपश्चिमलाई ८ विकेट, कर्णालीलाई १२७ रन, कोशीलाई ७ विकेट र एपीएफ क्लबलाई ३ विकेटले हराएको छ ।
प्रतिक्रिया राख्नुहोस्