८ कक्षाको परीक्षाफल प्रकाशन गर्ने मालिकार्जुन गाउँपालिका देशभरिमै पहिलो

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले परीक्षा सकिएको एक दिनमै परीक्षाफल प्रकाशन गरेको छ । गाउँपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षाफल एक दिनमै प्रकाशित गरेको हो ।
गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले परीक्षा सकिएकै दोस्रो दिन परीक्षाफल प्रकाशित गरी देशभरिमै परीक्षाफल प्रकाशन गर्ने पहिलो पालिका भएको छ । फागुन २५ गतेबाट सञ्चालन भएको गाउँपालिकास्तरीय कक्षा ८ को परीक्षा चैत ४ गते सकिएको थियो । शिक्षा युवा तथा खेलकुद शाखाले परीक्षा सकिएको एक दिनमै परीक्षाफल प्रकाशन गर्न सफल भएको छ ।
गाउँपालिकाभरिबाट १४ वटा विद्यालयका ३ सय २८ जना विद्यार्थीले आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा सहभागिता जनाएकोमा १६७ जना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिका शिक्षा अधिकृत लोकेन्द्रसिंह धामीले जानकारी दिए ।
परीक्षामा सहभागी भएका १६१ जना विद्यार्थी ननग्रेडेड भएका छन् । पालिकाभरिमा बालिचन आधारभूत विद्यालय चडेखान, कृष्ण मावि डाडाकोटले शतप्रतिशत नतिजा ल्याउँदा सरस्वती मावि उकुले शून्य नतिजा ल्याएको छ । यस्तै हुनैनाथ मावि चन्दनपुरले ९४ प्रतिशत, खान मावि ऐरिछानाले ९० प्रतिशत, निलपातेश्वर मावि भर्तोलाले ८८ प्रतिशत, र सरस्वती मावि सेलिचामाले ७० प्रतिशत नतिजा ल्याएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखाले बढीमा २ विषयमा ननग्रेड ल्याएका विद्यार्थीका लागि ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको धामीले बताए । ग्रेड वृद्धि परीक्षा चैत २० र २१ गते सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्