गमगढीमा रेडियो नेपालद्वारा पर्यटन र कृषि विषयक स्थलगत बहस
मुगु । रेडियो नेपालले शुक्रवार गमगढीमा पर्यटन र कृषि क्षेत्रका विषयमा विषयमा स्थलगत बहस कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा पर्यटन र कृषि क्षेत्रको हालको अवस्था, चुनौती र भावी योजना, चुनौती र सुधारका विषयमा छलफल गरिएको थियो।

रेडियो नेपालका उप–निर्देशक गोकर्ण रेग्मी र वरिष्ठ कार्यक्रम अधिकृत हरि गिरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कालिकोट संवाददाता अनन्त बरालले कार्यक्रमको सहजिकरण ।
बहस कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मञ्जन बहादुर कार्की, सोरू गाउँपालिकाका अध्यक्ष धरम बहादुर शाही, छायानाथ रारा नगरपालिकाका उपप्रमुख, एवं कार्यवाहक नगर प्रमुख ऐश्वर्य मल्ल, नेकपा (एमाले) का अध्यक्ष पूर्णबहादुर रोकाया, नागरिक समाजका अध्यक्ष रूपबहादुर मल्ल नामब अधिकारवादी चित्रबहादुर मल्ल, भूमि आयोग सदस्य सुर्येबी मल्ल, पत्रकार महासङ्घ मुगुका निवर्तमान अध्यक्ष नृपेन्द्र बहादुर मल्ल, उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढा, सडक डिभिजन कार्यालय जुम्ला र कृषि विकास र नगरपालिका पर्यटन विकास प्रतिनिधिका साथै आम नागरिक कार्यक्रममा सहभागिता हुनुहुन्थ्यो ।
पर्यटनका विषयमा नेपालकै ठुलो र गहिरो ताल रारा, नेपालकै धार्मिक स्थल छायानाथ मन्दिर, तातोपानी, मानसरोवरबाट बग्ने हुम्ला कर्णाली र पवित्र धार्मिक स्थल छायानाथबाट बग्ने मुगु कर्णालीको संगम स्थल (भिई) दोमुख, भिई गुरा रिणमोक्ष मन्दिर, थार्पमष्टा खतेड मालिका, मुगुमकार्मारोङ वचन बोल्ने गुम्बा, लगायतका स्थलहरूमा पर्यटनको विकासका लागि कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक कालोपत्रे गरिनुपर्ने,र गाउँ बस्ती स्तरका सडक विस्तार गरिनुपर्ने तथा राज्य सञ्चालन संयन्त्रमा मुगु जिल्लाको पहुँच नपुग्ने भएकाले भने जति विकासले गति लिन नसकेको विषयमा बहस भएको थियो ।
मुगु जिल्लामा जम्मा जमिनको ६ प्रतिशत मात्र खेतीयोग्य जमिन भएकोले ६ महिना मात्र खान पुग्ने गरेको, गरा सुधार, रैथाने बाली र ओखर, स्याउ, जडिबुटीमा जोड दिनुपर्नेमा पनि कार्यक्रममा छलफल भएको थियो ।

बहसमा पर्यटन तथा कृषि क्षेत्रको विकासका लागि नीतिगत सुधार, पूर्वाधार विकास, स्थानीय स्तरमा लगानीको सम्भावना, रोजगारी सृजना तथा समग्र आर्थिक वृद्धिका विषयमा छलफल गरिएको थियो । सहभागीहरूले गमगढी तथा आसपासका क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्न सहजीकरण, प्रचार–प्रसार गरी स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उपायबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
रेडियो नेपालद्वारा गमगढी स्थित होटेल मुनलाइटमा आयोजित बहसले स्थानीय पर्यटन र कृषि क्षेत्रका चुनौतीहरू उजागर गर्नुका साथै समाधानका उपायबारे गहिरो विमर्श गरेको सहभागीहरूको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्