तपाईँ सुन्दै हुनुहुन्छः

गायन र नृत्य रियालिटी शो सिजन–२ नेपाल टेलिभिजनबाट प्रसारण हुने

काठमाडौँ । गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्स र नृत्य रियालिटी शो मेरो डान्स युनिभर्सको सिजन–२ सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । 

शोहरु प्रत्येक शुक्रबार, शनिबार, आइतबार र सोमबार राति ८.५० बजे प्रसारण हुनेछन् । विश्वभरी छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिको माध्यमबाट एक सुत्रमा बाँध्ने लक्ष्यका साथ ती कार्यक्रमहरू निर्माण गरी प्रसारण गर्न लागिएको हो । दुवै रियालिटी शोमा प्रथम हुने विजेतालाई १/१ करोड, दोस्रो हुनेलाई २५/२५ लाख र तेस्रो हुनेलाई १०/१० लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 

नेपाल टेलिभिजनको सहकार्यमा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको निर्माण तथा प्रसारणका लागि आज नेपाल टेलिभिजन र इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसनबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिभिजनमा आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका तर्फबाट व्यापार महाशाखाका निर्देशक राजकुमार थापा र फाउन्डेसनका तर्फबाट नेपाल च्याप्टरका अध्यक्ष बाबुकृष्ण कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले यो कार्यक्रमका माध्यमबाट सार्वजनिक सेवा प्रसारणलाई विश्वमा रहेका नेपालीबिच पुर्‍याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा इन्ट्रा फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराइले फाउन्डेसनले सञ्चालन गर्ने नृत्य र गायन प्रदर्शन नेपाली संस्कृति र एकताको विश्व अभियान भएको बताउनुभयो ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपाल सञ्चालक समितिका सदस्य फुलमान बल तामाङले यस्ता प्रदर्शन र रियालिटी शोहरुले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button