७० वर्ष माथिका ६२ ज्येष्ठ नागरिक सम्मानित
बागलुङ । यहाँको एक गैर सरकारी संस्थाले माता पितासँग सिवाईसी कार्यक्रमको आयोजना गरि ६२ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ ।

चार तारे युवा क्लब, सिवाईसी नेपालका आजीवन, विशिष्ट सदस्य, संस्थाले सञ्चालन गरिरहेको वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम अन्तर्गतका ज्येष्ठ सदस्य र सिवाईसी साकोस अन्तर्गतका ७० वर्षदेखि ९१ वर्षसम्मका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले ज्येष्ठ नागरिकहरूको अनुभव, ज्ञान र योगदान समाजका लागि अनमोल सम्पत्ति भएकाले उनीहरूको सम्मान तथा सुरक्षा सुनिश्चित गर्नका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका संरक्षक तथा वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेल, सामाजिक विकास कार्यालयका प्रमुख हिमाल घर्ती मगर, ज्येष्ठ नागरिकहरूको तर्फबाट समाजसेवी हरिप्रसाद श्रेष्ठ, डा. तरुण पौडेल, मानव सेवा आश्रमका अभिभावक निर्मलकुमार श्रेष्ठ, सिवाईसी साकोसका सल्लाहाकार बद्रीप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका अवसरमा मानव सेवा आश्रम बागलुङद्वारा सञ्चालित अक्षय कोषमा सिवाईसी साकोसका सञ्चालक समिति, उपसमिति र कर्मचारीहरूको तर्फबाट वार्षिक रुपमा प्रदान गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार प्रदान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्