तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष विष्टद्वारा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाको निरीक्षण

धनकुटा । सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा.महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र धनकुटाको निरीक्षण, अवलोकन गर्नुभएको छ । 

पिएसबीका अध्यक्ष डा.विष्टले सोमबार प्रादेशिक प्रसारण केन्द्र धनकुटाको निरीक्षण गर्नुभएको हो । निरीक्षण, अवलोकनपछि कर्मचारीहरूसँगको भेटघाटमा उहाँले नागरिकलाई केन्द्रमा राखेर प्रसारण सामग्री उत्पादन तथा प्रसारण गर्न निर्देशन दिनुभयो । 

प्रादेशिक प्रसारणले प्रदेश सरकारसँगै स्थानीय तहहरूसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताउँदै उहाँले कर्मचारीहरूलाई बहू सीपयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । अब राजनीतिक, समुदायगत र क्षेत्रगत आधारमा भेदभाव नहुने तर कामको आधारमा भने कर्मचारीको मूल्याङ्कन गरिने उहाँको भनाई थियो । 

अध्यक्ष विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजन समायोजन हुँदा केही दुबिधा जस्तो देखिए पनि पिएसबी नितान्त नौलो नभएको बताउनुभयो । नेपालमा भर्खरै पिएसबीको अभ्यास भएकाले केही अस्पष्टता रहे पनि त्यसलाई नीतिगत रुपमा हल गर्दै लगिने उहाँले बताउनुभयो । 

निरीक्षण, अवलोकन तथा भेटघाटमा अध्यक्ष विष्टसँगै रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख तारा प्रसाद वस्ती, योजना विकास विस्तार महाशाखा प्रमुख पुष्करराज गौतम लगायत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रादेशिक प्रसारण केन्द्र धनकुटाको अवस्थाका बारेमा निमित्त कार्यालय प्रमुख, वरिष्ठ सम्पादक तिलविक्रम चेम्जोङले जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button