विद्यमान चुनौतीहरू पार गर्न वर्तमान सरकार निर्माण भएको हो: उपप्रधानमन्त्री सिंह
नेपालगन्ज । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यमान चुनौतीहरू पार गर्न वर्तमान सरकार निर्माण भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता र दिगो विकासका लागि बलियो सरकारको आवश्यकता महसुस भएपछि कांग्रेस(एमालेको गठबन्धन सरकार निर्माण भएको बताउनुभयो । सिंहले सङ्घीयता अनुरुप हुने गरी संविधान संशोधनको गृहकार्य सुरु भएको उल्लेख गर्नुभयो । जनताका आकाङ्क्षा सम्बोधन गर्न सरकार प्रयत्नशील रहेको बताउँदै उहाँले विकास, सुशासन र स्थिरता सरकारको मुख्य लक्ष्य भएको बताउनुभयो । कांग्रेसका पूर्व महामन्त्री समेत रहनुभएका सिंहले पार्टीलाई बलियो बनाउने गरी क्रियाशील रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर, केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले पनि बोल्नुभएको थियो । त्यस अघि कांग्रेस नेता कार्यकर्ताले विभिन्न जिज्ञासा राखेका थिए । कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सञ्जु कुमारी चौधरीले गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्