कांग्रेस-एमाले सरकारलाई असफल हुने छुट छैन: डा. शेखर कोइराला
नेपालगन्ज । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले काँग्रेस-एमाले सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ ।
नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले दुवै दलका नेता कार्यकर्ता मिलेर सरकारलाई सफल बनाउनुपर्ने बताउनुभयो । दुई ठूला दल मिलेर बनेको दुई तिहाइको सरकारले जनआकाङ्क्षा पूरा गर्न सक्नुपर्नेमा कोइरालाको जोड छ । उहाँले सरकारलाई सही दिशामा अघि बढाउन खबरदारी गरिरहनुपर्ने समेत बताउनुभयो ।
उहाँले संविधान संवेदनशील डकुमेन्ट भएकाले सबैको भावनालाई समेटेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । डा. कोइरालाले आर्थिक अवस्था र सुशासनमा सुधार नआएको टिप्पणी गर्दै सरकारले राम्रो काम गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीको १५औँ महाधिवेशन समयमै हुनुपर्ने बताउँदै उहाँले २०८४ पछि महाधिवेशन भए कांग्रेस कमजोर हुने जिकिर गर्नुभयो । कोइरालाले समयमै महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माणका लागि आम कार्यकर्ताले निरन्तर दबाब बढाइरहनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसलाई मजबुत बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने कोइरालाको भनाई छ । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्