पछिल्ला केही वर्षदेखि मुगुमा च्याँखुराको अस्तित्व संकटमा
मुगु । पछिल्ला केही वर्षदेखि मुगु जिल्लामा च्याँखुराको अस्तित्व संकटमा परेको छ। स्थानीय कृषकहरूको अनुसार, च्याँखुराको संख्या उल्लेखनीय रूपमा घट्दै गएको छ, जसले यस क्षेत्रको जैविक विविधतामा नकारात्मक प्रभाव पारिरहेको छ।
च्याँखुरा, जसलाई वैज्ञानिक रूपमा ‘ट्रागोपान’ भनिन्छ, मुगु जिल्लाको वन क्षेत्रमा पाइने एक दुर्लभ पंक्षी प्रजाति हो। यस पक्षीको सुन्दरता र सांस्कृतिक महत्त्वका कारण यसलाई संरक्षण गर्नुपर्ने आवश्यकता रहेको छ। तर पहिलेको समयमा बनपाखातिर प्रसस्त रूपमा पाइने च्याँखुरा अहिले वन विनाश, अवैध चोरी शिकार, र जलवायु परिवर्तनका कारण यसको बासस्थानमा ह्रास आएको छ, जसले च्याँखुराको जनसंख्या घट्न थालेको बुढापाकाहरूले बताएका छन्।
स्थानीय स्तरमा र सम्बन्धित निकायले च्याँखुराको संरक्षणका लागि कुनै कार्यक्रम सञ्चालन गरेका छैनन्। जनचेतना अभिवृद्धि, अवैध शिकार नियन्त्रण, र बासस्थान संरक्षणमा जोड दिनु पर्ने र स्थानीय स्तरमा च्याँखुराको महत्त्व र यसको संरक्षणका उपायबारे जानकारी गराउनु पर्ने आवश्यकता देखिन्छ।
छायाँनाथ रारा नगरपालिकाको वडा नं. ७, टोप्लाका स्थानीय बासिन्दा पर्वुजङ्ग शाही भन्छन्, “च्याँखुरा पहिले घर नजिकैका बनपाखामा प्रसस्त देखिन्थे, बास्थे तर अहिले फाटफुट बाहेक पहिले जस्तो छैन।”
च्याँखुराको अस्तित्व संकटलाई सम्बोधन गर्न स्थानीय, प्रदेश, र संघीय सरकारबीच समन्वय आवश्यक छ। यदि तत्काल प्रभावकारी कदमहरू नचालिएमा, मुगु जिल्ला मात्र नभई समग्र कर्णाली र सुदूर पश्चिमबाटै च्याँखुराको अस्तित्व पूर्ण रूपमा समाप्त हुने खतरा छ। त्यसैले, सबै पक्षले मिलेर यस पक्षीको संरक्षणका लागि ठोस कदम चाल्नु पर्ने आवश्यकता छ।
प्रतिक्रिया राख्नुहोस्