तपाईँ सुन्दै हुनुहुन्छः

 भोजपुरको कावा खोलामा पक्की पुल निर्माण

भोजपुर । जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावा खोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल नहुँदा वर्षौँबाट समस्या झेल्दै आएका स्थानीयवासीलाई पुल बनेपछि सहजता भएको छ ।

स्टिल ट्रस ओपन फाउन्डेसन, एक स्पानमा निर्माण भएको पुल ४६ मिटर लम्बाइ, छ मिटर चौडाइ र एक दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्ने गरी निर्माण गरिएको कोशी प्रदेश, प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइले जनाएको छ । पुल भ्याटसहित रु चार करोड ६२ लाख ७४ हजार नौ सय १० लागतमा निर्माण भएको हो ।

कावा खोलामा पुल निर्माणले दक्षिणी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । पुल सञ्चालनमा आएपछि सवारीसाधन आवतजावतमा सहजतासँगै उत्पादित कृषि उपजको बजारीकरणमा टेवा पुगेको अध्यक्ष राईको भनाइ छ ।

“धेरै पहल र प्रयत्नपश्चात् कावा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ”, अध्यक्ष राईले भन्नुभयो, “यो खोला पुल नहुँदा दक्षिणी क्षेत्रको जनजीवन निकै कष्टकर थियो । अब भने सदरमुकामसम्मको आवतजावतका लागि सहज अवस्था बनेको छ ।”

कावा खोलामा पुल निर्माणले जोखिम मोलेर खोला तर्नुपर्ने अवस्थाबाट दक्षिणी क्षेत्रका नागरिक मुक्त भएको हतुवागढी–२ का वडाध्यक्ष विचारी थापाले बताउनुभयो । वर्षात्को समयमा खोलामा पुल नहुँदा बिरामी तथा स्थानीयलाई धेरै सास्ती हुने गरेको भए पनि अब भने दैनिकी सहज बनेको उहाँको भनाइ छ ।

“करिब पाँच वर्षको पर्खाइपछि कावा खोलामा पुल निर्माण भएर सञ्चालन आएको छ”, वडाध्यक्ष थापाले भन्नुभयो, “यहाँ पुल नहुँदा नागरिकले भोगेका दुःखको बयान गरिसाध्य छैन । वर्षात्को समयमा मानिस वारिका वारि, पारिका पारि हुने अवस्था थियो । पुल निर्माणले स्थानीयमा उत्साह बढेको छ ।”

यो खोलामा स्विस सरकारको आर्थिक सहयोगमा २०७६ फागुन १२ मा शिलान्यास गरेर काम थालिएको थियो । निर्माणको अन्तिम चरणमा पुगेको पुल ढलान गरेपछि २०७८ मङ्सिरमा भाँचिएका थियो । निर्माणका क्रममा पुल भाँचिएपछि यहाँ पुनः पुल निर्माण भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button