अवैध खोला दोहन गर्ने एक्स्काभेटरसहित चालक पक्राउ
बर्दिबास । महोत्तरीको रातु खोलाबाट मापदण्डविपरीत उत्खनन गरेको आरोपमा प्रहरीले दुई वटा एक्स्काभेटर सहित चालकलाई पक्राउ गरेको छ ।

बर्दिबास नगरपालिका–९, पशुपतिनगरस्थित पथलैया खण्डको झोलुङ्गे पुल नजिकैबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा एक्स्काभेटर र चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवती रमण पोखरेलले बताउनुभयो ।
मापदण्ड विपरीत ठुला मेसिन प्रयोग गरेर उत्खनन गरिरहेको अवस्थामा एक्स्काभेटर र चालक द्वय सरोज कुशवाहा र विजय चौधरीलाई नियन्त्रणमा लिएर कानून कारबाही प्रक्रिया अघि बढाइएको प्रनाउ पोखरेलले बताउनुभयो ।
रातु खोलामा उत्खननको नाममा मापदण्ड विपरीत उत्खनन भइरहेको भन्दै स्थानीय आन्दोलित भएपछि प्रहरी खोलामा पुगेको थियो । झोलुङ्गे पुलबाट पाँच सय मिटर टाढाबाट मात्रै उत्खनन गर्न पाइने व्यवस्था भएपनि रातु खोलाको पथलैया खण्डस्थित झोलुङ्गे पुलको दुई सय मिटर नजिकैबाट उत्खनन हुँदै गर्दा प्रहरीले एक्स्काभेटर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यसअघि, बर्दिबास नगरपालिकाकी उपप्रमुख तारादेवी महतोको नेतृत्वमा गएको अनुगमन टोलीले रातु खोलामा मापदण्डविपरीत उत्खनन गरेको पाइएको थियो । छ फिटसम्म उत्खनन गरिएको, मध्यरातमा पनि उत्खनन गर्ने गरिएको, पुल नजिकैबाट नदीजन्य पदार्थ झिकिएको पाइएपछि सचेत गराइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्