हिउँदे मकै खेतीतर्फ बाँकेका किसान आकर्षित
बाँके । बाँकेका किसानहरू पछिल्लो समय हिउँदे मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशिल शर्माका अनुसार यस वर्ष डुडुवा ६ र नेपालगञ्ज २३, हिरमिनिया क्षेत्रमा २५ हेक्टर भन्दा बढी क्षेत्रफलमा हिउँदे मकै खेती गरिएको छ। यसै गरी, बाँकेमा ९५ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ।
नगदे बालीको रुपमा हिउँदे मकै खेतीप्रति बाँकेका किसान आकर्षित भएका छन्, विशेष गरेर यसको तत्काल बारीबाटै बिक्री गरेर नगद आर्जन गर्न सकिने कारणले पनि किसानहरू यसतर्फ आकर्षित भएका हुन्।
हरियो मकैको माग बढ्ने र उचित मूल्यमा बिक्री हुने कारणले पनि किसानहरूको रुचि हिउँदे मकै खेतीतर्फ बढेको छ। बाँकेका राप्तीसोनारी क्षेत्रसँगै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ र डुडुवा गाउँपालिकामा किसानहरूले प्रमुखत: हिउँदे मकै खेती गरेका छन्।
डुडुवा गाउँपालिका वडा नं. ६ का भंघोटना, कालाबञ्जर, पहाडियनपुर्वा, बकौली, अहिरापुर, महन्तरपुर्वा र बल्दीपुर्वालगायतका गाउँमा सबैभन्दा बढी हिउँदे यामको मकै खेती गरिएको कृषि शाखा प्रमुख शर्माले जानकारी दिनुभयाे।
नेपालगञ्ज वडा नं. २३ का भज्जुपुर्वा र जंगलीपुर्वा क्षेत्रमा पनि मकै खेती भइरहेको छ। कृषक रनेश मौर्यका अनुसार मकै नगदे बाली भएकोले राम्रो मूल्यमा सहजै विक्री हुने कारण यहाँका किसान हिउँदे र बसन्ते मकै खेती गर्दै आएका छन्।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी अनिश श्रेष्ठका अनुसार, यस वर्ष बाँकेमा ९५ हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती गरिएको छ। गत वर्ष ७२ हेक्टर क्षेत्रमा हिउँदे मकै खेती गरिएको थियो।
पछिल्लो वर्ष बाँकेमा हिउँदे मकै खेतीबाट २३७ मेट्रिक टन मकै उत्पादन भएको जानकारी प्राप्त भएको छ, जुन ३.२९ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको हो। यस वर्ष मकै पाक्ने बेला नभएकाले अहिले क्रपकटिङ भएको छैन र उत्पादनको तथ्याङ्क अझै सार्वजनिक गर्न सकिएको छैन।
प्रतिक्रिया राख्नुहोस्