नागरिकको सुरक्षाका लागि सरकारले जिम्मेवारीपूर्वक काम गरिरहेको छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले नागरिकको सुरक्षाका लागि सरकारले जिम्मेवारीपूर्वक काम गरिरहेको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तराईका सुख्खाग्रस्त क्षेत्रमा ५ सय डिप बोरिङ गर्ने सरकारको कुरामात्र भएको सम्बन्धमा सञ्चारकर्मीको एक जिज्ञासामा सञ्चार मन्त्री गुरुङले सुख्खा क्षेत्रमा तत्काल सिचाई सुविधा पुर्याउन डिप बोरिङ गर्ने निर्णय सरकारले जिम्मेवारीपूर्वक नागरिकका समस्या समाधानका लागि चालेको कदमलाई अनावश्यक चर्चामा आउन राजनीतिक स्टन्टबाजी गर्नेहरूले नकारात्मक टिप्पणी गर्ने गरेको बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले सरकारले तराईका सुख्खा क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी चाँडो भन्दा चाँडो समस्याको समाधान गर्न काम अघि बढाएको पनि जानकारी गराउनुभयो ।
यस्तै साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनः स्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २ दशमलव ८ अर्ब जापानी येन अनुदान सहायता र रानी जमारा कुलरीया सिचाई आयोजनाको लागि अन्तर्राष्ट्रिय किवास संस्थाबाट प्राप्त हुने १८ अर्ब ९२ करोड रुपैयाँ सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले राज्य कोषबाट लगानी भएका प्रतिष्ठान,बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धमा सुझावसमितिको प्रतिवेदन पेश गर्न पर्वतका रामुप्रसाद डोटेलको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ ।
यस्तै साउन १८ देखी २३ गतेसम्म थर्ड युनाइटेड नेसन कन्फ्रेन्स अन ल्याण्डलक डेभलपीङ कन्टीज (एलएलडिसी थ्रि) मा सहभागी हुन प्रधानमन्त्री नेतृत्वमा तृर्कमेनिस्तानको औपचारिक भ्रमण स्वीकृत गर्ने लगायतका निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्