वैदेशिक रोजगार बोर्डको वार्षिक नीति तथा कार्यक्रम, विदेशबाट फर्किएर नेपालमै उद्यम गर्न प्रोत्साहन

काठमाडौँ । वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्किएर नेपालमै उद्यम गर्न प्रोत्साहन गर्ने कार्यक्रमसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा उद्यम गर्ने उद्यमीलाई सम्मान गर्ने रिटर्नी उद्यमी आइडल कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
यस्तै बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विदेशमा अलपत्र परेका कामदारको उद्धार, वैदेशिक रोजगारीमा जाने युवालाई प्रशिक्षण एवं सीप विकास तालिम दिने लगायतका कार्यक्रमलाई जोड दिइएको छ ।
यस्तै, बोर्डले सोही अवसरमा सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को प्रगति प्रतिवेदन गत वर्ष १ हजार १ सय ८० नेपालीको शव मृतकको घरसम्म ढुवानी गरेको उल्लेख छ ।
बोर्डले गत वर्ष १ हजार २ सय ५० जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरेको र ६ सय ९८ जना अङ्गभङ्ग भएका तथा बिरामी परेका कामदारलाई आर्थिक सहायता प्रदान गरेको तथा २ सय ७५ जना कामदारका परिवारलाई स्वास्थ्योपचार सहयोग गरेको बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले जानकारी दिनुभयो ।
यसैगरी, बोर्डले गत आर्थिक वर्षमा ३ हजार ९ सय ९० जनालाई वैदेशिक रोजगार सन्तति छात्रवृत्ति सहायता प्रदान गरेको, विभिन्न देशमा अलपत्र परेका ७० जना नेपालीको शव नेपाल झिकाएको र एक जना अलपत्र नेपाली कामदारको उद्धार गरेको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।
यस्तै बोर्डले गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जान चाहने १४ हजार ४ सय ५८ युवालाई विभिन्न सीपमूलक तालिम दिनुका साथै श्रमाधान कल सेन्टर, टेलिमेडिसिन सेवा, र विभिन्न सचेतनामूलक कार्यक्रमहरू मार्फत वैदेशिक रोजगारीमा जाने युवाहरूको सेवा र सुरक्षाका कामहरू सम्पन्न गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा. उप्रेतीले विदेशमा गएर गर्नुपर्ने काम सम्बन्धी सामान्य सीप समेत नसिकी वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका कारण धेरै नेपालीहरू कार्यस्थलमा दुर्घटनामा पर्ने गरैको उल्लेख गर्नुहुँदै श्रम स्वीकृति लिन अनिवार्य तालिम लिएको हुनुपर्ने कानुनी प्रावधान कडाइका साथ लागु हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै बोर्डका निर्देशक गुरूदत्त सुवेदीले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षाका लागि सबै सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य हुनु जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्