कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

काठमाडौँ । कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक गरिएको छ ।
पर्यटन प्रवर्द्धन मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा साहित्यकार अभि सुवेदीलगायत स्रष्टाहरूले उक्त कृतिको सार्वजनिक गर्नुभयो ।
शिक्षण पेसाबाट निवृत्त जिरेलको कविता सङ्ग्रह पर्यटन प्रवर्द्धन मञ्चले प्रकाशन गरेको हो । यसमा प्रकृति, संस्कृति र जीवनशैलीसम्बन्धी विभिन्न ७१ कविता समावेश छन् । जिरेलका कवितामा राष्ट्रप्रेम, माटोको सुगन्धलगायत विषय लालित्यपूर्ण रहेको सङ्ग्रहको भूमिकामा साहित्यकार सुवेदीले लेख्नुभएको छ ।
सङ्ग्रहको समीक्षा गर्दै कवि ज्योति जङ्गलले सरलताबाट कविता सङ्ग्रह सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कविताहरू सरलताबाट सुरु भएर दर्शनमा पुगेर अन्त्य हुन्छन् । कविले अरूको पीडा लेख्ने मात्र नभएर माटो र प्रकृतिसँगको आत्मीय सम्बन्धलाई गहिरो रूपमा अभिव्यक्त गर्नुभएको छ ।”
सङ्ग्रहमा कविले प्रेमिल राष्ट्रवाद, राजनीतिक सङ्घर्ष, जिरीको ऐतिहासिक महत्त्व र पर्यटन प्रवर्द्धनको आवश्यकतालाई कलात्मक ढङ्गमा प्रस्तुत गर्नुभएको तथा जिरी खुम्तीको सौन्दर्य, माटोको आवाज र कर्मशील युवाको हुँकारका रूपमा व्यक्त भएको चर्चा गरियो ।
पुस्तकका प्रकाशक लिलाराम खड्काले सङ्ग्रहलाई साहित्यिक पर्यटनको अभियानसँग जोड्न खोजिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले माटोलाई शब्दमा बाँध्ने प्रयास गरेका छौँ, जसले पाठकलाई पर्यटनप्रति नयाँ दृष्टिकोण दिन सक्छ ।”
कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले पनि पुस्तकको महत्वबारे चर्चा गर्नुभयो । “कवितामार्फत जिरीजस्तो पर्यटन स्थललाई राष्ट्रिय भावनासँग गाँसिएको देख्दा गर्व लागेको छ । जिरीसिक्री केवल भौगोलिक ठाउँ होइन, चेतनाको प्रतिनिधि बनेको छ”, उहाँले भन्नुभयो ।
सङ्ग्रहका लेखक जिरेलले कविता सङ्ग्रहमार्फत आफूले समाजमा अनुशासन, प्रकृतिसँगको सामीप्यता र मातृभूमिप्रतिको प्रेमको सन्देश दिन खोजेको बताउनभयो । उहाँले भन्नुभयो, “यो सङ्ग्रह मेरो माटोप्रतिको समर्पण हो । जिरी मेरो आत्मा हो, जसलाई मैले कवितामार्फत बोलेको छु ।”
वक्ताहरूले ‘जिरीसिक्रीका सुसेली’ नेपाली साहित्यमा केवल पर्यटनप्रेम मात्र नभई माटो र मनको आत्मीयता मिसिएको मौलिक स्वरूपको कविता सङ्ग्रहका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्