तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाले मधेश प्रदेशमा राहत, ढिलो भएपनि किसान रोपाई गर्दै 

जनकपुरधाम । लामो खडेरीको मारमा रहेका मधेश प्रदेशका किसानहरूलाई गए राति देखि परेको वर्षा तथा झरीका कारणले ठुलो राहत मिलेको छ । 

मधेश प्रदेशका आठै वटा जिल्लामा सामान्य देखि मध्यम खालको वर्षा भएको छ । धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लामा धानको रोपाई कम भएको छ भने खानेपानीको अभाव पर्सा, बारा, सिरहा सहितका जिल्लाहरूमा बढी मात्रामा देखिएको हो ।  

मधेश प्रदेशका जिल्लाहरूमा यस पटक समयमा वर्षा नभएका कारणले धानको रोपाई अपेक्षा अनुसार हुन सकेको छैन । धानरोपाईका लागि उपयुक्त समय नभएपनि किसानहरू बाध्य भएर अहिले वर्षा भएपछि रोपाईमा जुटेका छन् । 

उता वर्षा भएपछि मर्न लागेको धानको बेर्नालाई राहत मिल्नुका साथै मर्न थालेको बीउलाई वर्षाले जोगाएको छ । धान उत्पादनको दृष्टिकोणले रोपाई असार उपयुक्त रहेको र ढिलो गरी रोप्दा उत्पादनमा असर पर्ने खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनु भयो । 

वर्षा भएपछि विगत केही समय यता मधेश प्रदेशका जिल्लाहरूमा चपाकलहरु सुक्नुका साथै खानेपानीको ठुलो सङ्कट उत्पन्न भएको छ । हिजो देखि परेको वर्षाले सुक्न थालेको चापाकलमा पानी आउन थालेका छन् । पानीको अभाव भएपछि प्रदेश सरकार तथा स्थानीय सरकारले खानेपानी वितरण गरिरहेको छ । 

मधेश प्रदेशमा धान रोपाइँ तथा खानेपानीको अभाव भएपछि प्रदेश सरकारले मधेशलाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो भने सङ्घीय सरकारले तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका थिए । उता प्रदेश सरकारले आठै जिल्लाका ज्ञान केन्द्र मार्फत स्यालो ट्युबवेल वितरण गर्ने प्रक्रिया अगाडी बढाएको छ । एक जिल्लामा १ करोडका दरले स्यालो ट्युबवेल वितरणका बजेट पठाइसकेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button