मधेश प्रदेशमा साउन दोश्रो साता बित्दा पनि ५७.२७ प्रतिशत मात्रै धानरोपाँइ
जनकपुरधाम । साउन महिनाको दोश्रो साता बिते पनि अन्नको भण्डार भनेर चिनिएको मधेश प्रदेशका जिल्लाहरूमा धान खेती हुने कूल क्षेत्रफल मध्ये ५७.२७ प्रतिशतले धान रोपाइँ भएको छ ।

मधेश प्रदेशमा पाँच लाख ४२ हजार ५८०.७८ हेक्टर क्षेत्रफल मध्ये वर्षेनी रूपमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म दुई लाख १३ हजार ३४८.९५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको हो ।
मधेशका चार जिल्लाको धान रोपाइँ अवस्था भने सन्तोषजनक रहेको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ । सबै भन्दा बढी बारा र पर्सामा धान रोपाइँ भएको छ । पर्सामा ८५ र बारामा ८३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । रौतहटमा ७३ र सर्लाहीमा ६५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको सो मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत अविनाश झाले जानकारी दिनुभयो ।
यति बेलासम्म धान रोपाइँ ९० प्रतिशतले हुनुपर्नेमा महोत्तरी, सप्तरी र धनुषामा ५० प्रतिशतभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको हो । महोत्तरी ३९.७३, सप्तरीमा ४० र धनुषामा ४० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको बताउनुभयो । सिराहामा पनि ५० प्रतिशत हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको मन्त्रालयका वरिष्ठ अधिकृत झाले जानकारी दिनुभयो ।
मधेश प्रदेशका अधिकांश किसानहरू स्यालो, डिप बोरिङ तथा थोरै जग्गामा सतही सिँचाइको प्रयोग गरेर धान रोपाइँ गरेका छन् । मधेशका अधिकांश किसानहरू अझै पनि आकाशे भरमा नै खेती गर्नका लागि विवश छन् ।
यता मधेशका कृषि मन्त्रालयले तत्काल सिँचाइ सुविधा प्रदान गर्नका लागि आठै जिल्लाका कृषि ज्ञान केन्द्रमार्फत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत स्यालो ट्युबवेल, समरसिबल ट्युबवेल र सोलार पम्प प्रणाली जडान तथा सञ्चालनका लागि आवेदन आह्वान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्