तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाटमा बस पल्टिँदा एक जनाको मृत्यु, १३ जना घाइते

नवलपरासी,बर्दघाट । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा आज दिउँसो भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन्।

बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको यात्रुवाहक बस बर्दघाट बजारमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका ती यात्रुलाई बर्दघाटमा रहेको चिसापानी अस्पतालमा पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन।

दुर्घटनामा घाइते भएका १३ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बुटवल ल्याइएको छ भने अन्यको उपचार बर्दघाटका स्थानीय स्वास्थ्य संस्थामा भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले जानकारी दिनुभयो ।

डिएसपी पन्तका अनुसार अगाडि गइरहेको अटो रिक्शालाई जोगाउने प्रयासमा बस अनियन्त्रित भई विपरीत लेनमा पल्टिएको थियो। दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button