अमलेखगन्ज डिपोबाट पाइपलाइन मार्फत आएको पेट्रोल र मट्टितेलको वितरण शुरु
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/नेपाल-आयल-निगमको-अमलेखगन्ज-डिपो-2.jpg)
वीरगंज । नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगन्ज बाराले भारतबाट पाइप लाइन हुँदै आयात गरिएको पेट्रोल र मट्टितेलको औपचारिक रुपमा सोमबारदेखि वितरण शुरु गरेको छ ।
यस अघि आयल निगमले पाइप लाइन मार्फत डिजेल मात्रै वितरण गर्दै आएको थियो । पाइप लाइन विस्तार र अत्याधुनिक भण्डारण कक्षको निर्माण सम्पन्न गरेसँगै पेट्रोल र मट्टितेल आयातको सफल परीक्षणपछि रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट औपचारिक रूपमा पेट्रोल वितरण सोमबार बाट शुरु गरिएको निगमका अमलेखगन्जस्थित प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले जानकारी दिनुभयो ।
हिजो सोमबार पाइप लाइनबाट आयातित पेट्रोल पोखरा र विराटनगर पठाइएको छ । पोखरामा ७ ट्याङ्कर र विराटनगरमा १० ट्याङ्कर पेट्रोल पठाइएको आचार्यले बताउनुभयो । पाइप लाइनको बिस्तार सँगै अमलेखगन्जमा डिपो निर्माण, लोडिङ बे, प्रयोगशाला लगायत निर्माणको काम सम्पन्न भएपछि सोमबारदेखि औपचारिक वितरण सुरु गरिएको आचार्यले जानकारी दिनुभयो ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/नेपाल-आयल-निगमको-अमलेखगन्ज-डिपो-1.jpg)
बहुप्रतीक्षित नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना २०७६ भदौ २४ बाट औपचारिक रूपमा उद्घाटन भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइन उद्घाटन गर्नुभएको थियो । पहिलो चरणअन्तर्गत डिजेल आयात भइराखेको छ ।
पाइप लाइन मार्फत इन्धनको आयात हुन थालेसँगै भारतबाट ट्याङ्कर मार्फत इन्धनको ढुवानीमा हुने खर्च तथा प्राविधिक नोक्सानी अन्त्य भएको निगमका प्रादेशिक प्रमुख आचार्यले बताउनुभयो ।
यता दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएपनि औपचारिक रुपमा उद्घाटन भई पेट्रोल र मट्टितेलको आयात नियमित रुपमा गर्ने कार्य भने भारतीय पक्षको कारण ढिलाइ भएको छ ।
निर्माण सम्पन्न पछि उद्घाटनका लागि निगमले धेरै पटक भारतसँग समय मागे पनि उताबाट मिति तोक्न ढिलाइ भएको आयल निगम स्रोतले जनाएको छ ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/नेपाल-आयल-निगमको-अमलेखगन्ज-डिपो-3.jpg)
प्रतिक्रिया राख्नुहोस्