बाँके–बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर डे ठाकुर’द्वारा सुरु
नेपालगन्ज । बाँके–बर्दियाको पर्यटन प्रवर्द्धन तथा साइकल संस्कृतिको विकास गर्न सातौं संस्करणको टुर डे ठाकुरद्वारा सुरु भएको छ । नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा सुरु भएको दुई दिने इभेन्टको आज बिहान लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्घाटन गर्नुभयो ।

इभेन्ट उद्घाटन गर्दै मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न टुर डे ठाकुरद्वारा सहयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो इभेन्टलाई मुगुको रारा तालसम्म ‘एड्भेन्चर साइकल टुर’ का रुपमा अगाडि बढाउने प्रतिबद्धता भए आगामी बर्ष बजेट छुट्ट्याउने घोषणा समेत गर्नुभयो । मन्त्री न्यौपानेले स्वस्थ वातावरणका लागि पनि साइकल संस्कृति जरुरी रहेको भन्दै नेपालका सडकहरू साइकलमैत्री बनाउन आवश्यक देखिएको बताउनुभयो ।
नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघीय सांसद डा. धवल शमशेर राणा र नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले पर्यटन प्रवर्द्धन र साइकल संस्कृतिको विकास गर्न टुर डे ठाकुरद्वारा सार्थक बनिरहेको बताउनुभयो ।
साइकल यात्रामा देश विदेशका गरी २०० जना महिला र पुरुष साइकल यात्री सहभागी छन् । त्यस मध्ये भारतबाट २९ र चीनबाट १ जना साइकल यात्री पनि सहभागी छन् ।
नेपालगन्जको बागेश्वरी मन्दिर परिसरबाट साइकल यात्रा सुरु भएको छ । साइकल यात्रा बागेश्वरी मन्दिर परिसरबाट सुरु भई त्रिभुवन चोक, बिपी चोक, सुर्खेत रोड हुँदै कोहलपुर, केदारेश्वर धाम, सतखलुवा सिमसार क्षेत्र हुँदै बाटोमा रहेका विभिन्न धार्मिक पर्यटकीय स्थल र पर्यटकीय क्षेत्रको भ्रमण गर्दै ठाकुरद्वारा मन्दिर पुग्ने कार्यक्रम छ । बागेश्वरी मन्दिरदेखि ठाकुरबाबा मन्दिरसम्मको दुरी करिब १०० किलोमिटर छ ।
सातौं संस्करणको टुर डे ठाकुरद्वारा इभेन्टका लागि २७ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजक नेपालगन्ज साइक्लिङ क्लबले जनाएको छ । विश्वकै चर्चित इभी मोटर BYD मुख्य प्रायोजकको रुपमा छ ।
प्रतिक्रिया राख्नुहोस्