मजदुरका परिवारलाई बिमितको मृत्यु दाबी भुक्तानी हस्तान्तरण
नेपालगञ्ज । लघु जीवन बीमा गरेका दुई जना मजदुरको परिवारलाई बिमितको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ ले लघु जीवन बीमा गरेर मृत्यु भएका मुन्नी पासी र हनुमान बर्माको परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।
![](https://radionepalonline.com/wp-content/uploads/2025/02/IMG_20250205_181628-1024x709.jpg)
नगर प्रमुख प्रशान्त विष्टले मुन्नी पासीका दाई बुधराम पासी र हनुमान बर्माकी छोरी निकिता बर्मालाई जनही १ लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । वडा नम्बर १ ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेर वडाका ३११ मजदुरको १ लाख ५७ हजारको बीमा गरिदिएको छ । यसमा प्रति व्यक्ति औसतमा ५०० रुपैयाँ पर्दछ ।
वडा अध्यक्ष प्रमोद रिजालका अनुसार अति विपन्न मजदुर बर्गलाई आर्थिक सुरक्षाको आधार निर्माण गरिदिने उद्देश्यले बीमा गरेको बताउनुभयो । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रबन्धक कैलाश देवकोटाले अति विपन्न र सीमान्तकृत बर्गलाई बिमामा जोड्न आवश्यक रहेको बताउँदै यसबारे सचेतना जागृत गर्नुपर्ने बताउनुभयो । वडा अध्यक्ष रिजालका अनुसार वडा नम्बर १ कै भीम गुरुङले पनि दुर्घटना बीमा अन्तर्गत १० हजार उपचार खर्च पाउनुभएको थियो । नेपालगञ्ज उपमहानगरपालिका र अन्य विभिन्न वडाहरूले पनि लघु जीवन बीमा गर्ने तयारी गरेको प्रबन्धक देवकोटाले बताउनुभयो ।
त्यसै कार्यक्रमका बीच वडा नम्बर १ ले आजै धम्बोझी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बालबालिकालाई पोशाक (ट्र्याक सुट) पनि वितरण गरेको छ । यस्तै वडामा क्रियाशील विभिन्न सङ्घसंस्था, क्लब र समितिहरूलाई सामग्री पनि वितरण गरिएको छ । त्यस अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया राख्नुहोस्